काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। उनले चीनका उच्च सरकारी अधिकारीहरूसँग समेत भेटवार्ता गर्नेछन्।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावना र अवसरबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
यसैबीच, परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोहको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।











