सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ नम्बर वडा कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ।
वडाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार कम्तीमा एक रोपनी क्षेत्रफलमा आलुखेती गर्न इच्छुक कृषकलाई बीउको लागतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागिएको हो।
वडा अध्यक्ष शशिनाथ आचार्यका अनुसार कृषि उत्पादन वृद्धि तथा किसानलाई व्यावसायिक आलुखेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक कृषकले सूचना प्रकाशित भएको मितिले १२ दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
अनुदानका लागि आवेदन दिने कृषकले नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र आवश्यक पर्ने आलुको बीउको परिमाण खुलाइएको निवेदन पेस गर्नुपर्नेछ।
वडा कार्यालयले आलुखेतीका लागि जनकदेव र कार्डिनल जातका बीउ सिफारिस गरेको छ। गाउँपालिकामार्फत खरिद गरिने बीउको लागतको ५० प्रतिशत रकम कृषकले व्यहोर्नुपर्नेछ भने बाँकी ५० प्रतिशत रकम अनुदानस्वरूप उपलब्ध गराइनेछ।
कृषकलाई आलुखेतीमा आकर्षित गर्दै कृषि उत्पादन बढाउने र स्थानीय स्तरमै आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको वडा कार्यालयले जनाएको छ।












