२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले तीन महिनाको अवधिमा कुल १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।

बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा यस वर्ष बैंकहरूको समग्र नाफा ४५.५९ प्रतिशतले बढेको हो। गत वर्ष सोही अवधिमा बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

नाफा आर्जनमा नबिल बैंक शीर्ष स्थानमा

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंकका रूपमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४५.४३ प्रतिशतले बढी हो।

त्यस्तै, ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थान हासिल गरेको छ। राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२ प्रतिशतले बढेको छ।

एभरेस्ट बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ भने प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। प्राइम बैंकको नाफा भने गत वर्षको तुलनामा ५.६२ प्रतिशतले घटेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको यस बैंकले यसपटक २ हजार ५२२.४७ प्रतिशतको वृद्धि हासिल गरेको छ।

यसैगरी एनएमबी बैंकले १ अर्ब १६ करोड ४२ लाख र कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका छन्। सानिमा बैंकले पनि १ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यससँगै पहिलो त्रैमासमा एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाउने वाणिज्य बैंकको संख्या नौ पुगेको छ।

अन्य बैंकको नाफा कति ?

समीक्षा अवधिमा सिद्धार्थ बैंकले ८५ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकले ८३ करोड २१ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

त्यस्तै, हिमालयन बैंकले ६५ करोड ४८ लाख, लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख, प्रभु बैंकले ६० करोड ३७ लाख, नेपाल एसबीआई बैंकले ५५ करोड २२ लाख र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ र कृषि विकास बैंकले १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यता, सिटिजन्स बैंक भने घाटाबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ।

समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणले अधिकांश वाणिज्य बैंकको नाफामा सुधार आएको देखाएको छ। यद्यपि केही बैंकको नाफा घटेको छ भने केही बैंकले उल्लेख्य सुधार गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।