काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’बाट प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ। योसँगै बैंकले लगातार तेस्रो वर्ष उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।
बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि सोही विधामा अवार्ड प्राप्त गरेको थियो। थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीले अवार्ड ग्रहण गरेका हुन्।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको मुख्य आधार बनाएको जनाएको छ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका छन्।
ग्लोबल आइएमई बैंकले यो सम्मानले ग्राहकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको जनाएको छ। बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको दाबीसमेत गरिएको छ।
मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टरमार्फत सेवा दिँदै आएको छ। बैंकका तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय पनि छन्।
यसका अतिरिक्त बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत विभिन्न मुलुकबाट नेपालमा विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको छ।












