
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–स्थित थाङपालधाप साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। अधिवेशनले बाबुराम पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, सहकारी शाखा प्रमुख ध्रुव लामिछानेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले सहकारी संस्थाहरू ग्रामीण अर्थतन्त्रको विकास, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा नागरिकको आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले सहकारीले सदस्यहरूको बचत परिचालन गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले सहकारीले महिला तथा ग्रामीण समुदायको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले सहकारीका सदस्यहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनका अवसर विस्तार गर्न संस्थाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईंले सहकारी संस्थाहरूले सहकारीका मूल्यमान्यता, सिद्धान्त र सुशासनलाई आत्मसात् गर्दै सदस्यको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले आर्थिक पारदर्शिता, नियमित लेखापरीक्षण र जिम्मेवार व्यवस्थापनबाट मात्रै सहकारीप्रति सदस्यहरूको विश्वास बलियो हुने धारणा व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले सहकारी संस्थाहरूले आर्थिक अनुशासन कायम गर्दै प्रचलित कानुन तथा नीतिनियमअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संस्थाको दिगोपनका लागि पारदर्शी वित्तीय व्यवस्थापन र सदस्यप्रतिको जवाफदेहिता आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी, गाउँपालिकाका सहकारी शाखा प्रमुख ध्रुव लामिछानेले सहकारीको संस्थागत विकासका लागि नियमित अनुगमन, अभिलेख व्यवस्थापन, वित्तीय अनुशासन र सदस्यहरूलाई सहकारीसम्बन्धी ज्ञान प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले सहकारीले बचत तथा ऋणको कारोबारसँगै सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
सहकारीका पूर्वअध्यक्ष शिशिर वाइबा, माधवप्रसाद पाण्डेलगायतले पनि सहकारीको विकास, सदस्यहरूको आर्थिक समृद्धि र संस्थालाई थप व्यवस्थित बनाउने विषयमा धारणा राख्नुभएको थियो ।
सहकारीका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आर्थिक तथा संस्थागत प्रगतिबारे जानकारी गराइएको थियो। हाल सहकारीमा ७५८ जना शेयर सदस्य रहेका छन् भने संस्थाको कुल कारोबार ८ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
साधारणसभाको अवसरमा शेयर सदस्यहरूलाई १५ प्रतिशत बोनस लाभांश वितरण गरिएको सहकारीका प्रबन्धक प्रतिज्ञा पौड्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सदस्यहरूलाई कुल १० लाख ४ हजार ५६० रुपैयाँ लाभांश वितरण गरिएको हो ।
कार्यक्रममा कलाकारहरू भीमसेन खतिवडा, लक्ष्मी दर्नाललगायतले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
सहकारीको तेस्रो अधिवेशनले बाबुराम पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालमा संस्थाको आर्थिक अवस्था थप सुदृढ बनाउने, सदस्यहरूको हित प्रवर्द्धन गर्ने तथा सहकारीको सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ ।












