काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको पुनर्निर्माण लगायतका विषयमा दुई देशबीच महत्वपूर्ण छलफल हुनेछ।
अर्थमन्त्री वाग्लेको यस उच्चस्तरीय भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
के-के छन् कार्यक्रम ?
अर्थमन्त्री वाग्लेले बिहीबार अर्थात आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
यस्तै शुक्रबार बिहान ९:०० बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता र साँझ ५:०० बजे: भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्।
राति ७:३० बजे भने भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागि हुनेछन् ।
यसैगरी शनिबार बिहान ९:३० बजे: भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने।

बिहान ११:३० बजे: दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेकाे छ।
शनिबार साँझ ४:०० बजे अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता हुनेछन्।











