काठमाडौं । नेपाल–चीन प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ बाढीका कारण अवरुद्ध भएपछि मुस्ताङको कोरला–लिजी नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा व्यस्त बन्न थालेको छ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध छ। चीनले तातोपानी नाका पनि अस्थायी रूपमा नखोलेपछि चीनबाट नेपालतर्फ आउने वस्तु तथा विद्युतीय सवारीसाधन कोरला नाकाबाट ल्याउन थालिएको हो।
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले कोरला नाकाबाट दैनिक ६० देखि ७० वटा मालवाहक सवारीसाधन जाँचपास भइरहेका छन्।
मुस्ताङ भन्सार प्रमुख बिदुर चुडालका अनुसार अधिकांश कन्टेनरमा दसैँलाई लक्षित गरी ल्याइएका सामग्री छन्। यसबाहेक औद्योगिक कच्चा पदार्थ तथा केही फलफूलसमेत आयात भइरहेको छ।
भन्सार कार्यालयका अनुसार हालसम्म ४८२ वटा कन्टेनर जाँचपास भएका छन्। भदौ १० गतेअघि भने १३३ वटा मात्रै जाँचपास भएका थिए। बाढीपछि मात्रै ३४९ वटा कन्टेनर कोरला नाकाबाट जाँचपास भइसकेका छन्।
कोरला हुँदै सयौँ ईभी नेपाल भित्रिए
रसुवागढी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) समेत कोरला नाकातर्फ मोडिएका छन्।
भन्सार प्रमुख चुडालका अनुसार हालसम्म ७५७ वटा विद्युतीय सवारीसाधन मुस्ताङ भन्सारबाट जाँचपास भइसकेका छन्। भदौ १० गतेअघि १६३ वटा मात्रै जाँचपास भएका थिए भने त्यसपछि ५९४ वटा ईभी जाँचपास भएका छन्।

अझै करिब ३ देखि ४ सय विद्युतीय सवारीसाधन नाकामै रहेको र तीमध्ये केहीको भन्सार घोषणा हुन बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ।
तातोपानी नाका पनि सञ्चालनमा नआएको अवस्थामा आगामी दिनमा कोरला नाकाबाट ईभीसहित अन्य वस्तुको आयात अझ बढ्न सक्ने अनुमान गरिएको छ।
दुई महिनामै उठ्यो करिब २ अर्ब राजस्व
रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट व्यापारिक गतिविधि बढेसँगै मुस्ताङ भन्सारको राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ।
भन्सार प्रमुख चुडालका अनुसार शनिबारसम्म १ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। आइतबार थप करिब १३ करोड रुपैयाँ संकलन भएपछि कुल राजस्व करिब २ अर्ब रुपैयाँ पुगेको छ।
जबकि भदौ १० गतेसम्म मुस्ताङ भन्सारबाट जम्मा ५३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सारबाट ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक नाकाका रूपमा कोरला प्रयोग बढ्दा दुई महिना नपुग्दै लक्ष्यको करिब एक चौथाइ राजस्व संकलन भएको हो।
बढ्यो जनशक्ति, पूर्वाधार निर्माणमा चुनौती
व्यापारिक गतिविधि बढेपछि मुस्ताङ भन्सार कार्यालयमा जनशक्ति थप गरिएको छ। भदौ १० गतेअघि १०–११ कर्मचारीबाट सञ्चालन हुँदै आएको कार्यालयमा अहिले थप ६ जना कर्मचारी पठाइएको छ।
व्यापार बढे पनि उच्च हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार र श्रमिकको अभाव चुनौती बनेको छ। नेचुङमा भन्सार कर्मचारीका लागि अस्थायी आवास निर्माणको कामसमेत सुरु गरिएको छ।
प्रिफ्याब प्रविधिबाट आवास निर्माण भइरहेको भए पनि आवश्यक श्रमिक पाउन कठिन भइरहेको भन्सार कार्यालयले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा बाहिरी क्षेत्रबाट आएका श्रमिकलाई काम गर्न कठिन हुने भएकाले स्थानीय सीमित श्रमिकमै भर पर्नुपर्ने अवस्था रहेको भन्सार प्रमुख चुडालले बताए।
रसुवागढी नाका कहिले पूर्णरूपमा सञ्चालनमा आउने भन्ने टुंगो नलागेको अवस्थामा कोरला नाका नेपाल–चीन व्यापारको महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा थप सक्रिय हुने संकेत देखिएको छ।










