










सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिकाको आयोजनामा सम्पन्न माध्यमिक विद्यालयस्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगितामा श्री कमलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ।
प्रतियोगितामा श्री नवलपुर माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गर्दा श्री राजेश्वरी माध्यमिक विद्यालय तृतीय भएको छ। प्रविधिमैत्री शिक्षण-सिकाइलाई प्रोत्साहन गर्ने र विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरूको डिजिटल माध्यमबाट जवाफ दिँदै आफ्नो ज्ञान, प्रतिभा तथा क्षमता प्रस्तुत गरेका थिए।
विजयी विद्यालय तथा विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष नेपालले विद्यार्थीहरूको बौद्धिक तथा प्रविधिमैत्री क्षमता विकासका लागि आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई गाउँपालिकाले निरन्तरता दिने बताउनुभयो।










