काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रबिन सिजापति नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल बिहीबार समाप्त भएपछि बैंकले शुक्रबार नै नयाँ सीईओ नियुक्त गरेको हो। नवनियुक्त सीईओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन टोलीले शुक्रबार नै कार्यालयमा स्वागत गरेको छ।
सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) मा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। डेपुटी सीईओसरहको जिम्मेवारीमा रहेका उनले यही असार मसान्तदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए।
सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकहरूमध्ये एकसमेत हुन्। बैंकमा संस्थापक लगानीकर्ताका रूपमा जोडिएका सिजापतिले अब आगामी चार वर्ष बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।
बैंकको नेतृत्वमा अनुभवी सिजापतिको आगमनसँगै सांग्रिलाको आगामी व्यावसायिक रणनीति, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणमा नयाँ गति आउने अपेक्षा गरिएको छ।











