काठमाडौँ। बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ‘वेस्ट मन्टेसरी चिल्ड्रेन्स हाउस’ (Best Montessori Children’s House), थलीले आर्थिक सहयोग प्रदान गरेको छ। विद्यालयले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग जमा गरेको हो।
विपद्का कारण कठिन परिस्थितिमा परेका प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको विद्यालयले जनाएको छ।
प्राकृतिक विपद्को यस घडीमा समाजका सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विद्यालय प्रशासनले विपद् प्रभावित नागरिकको उद्धार र राहतमा आफ्नो तर्फबाट सानो योगदान पुर्याइएको बताएको छ।
विद्यालयको यस सहयोगले विपदमा परेका नागरिकको तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका कार्यमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।












