सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। भदौ १० गते आएको बाढीपहिरोले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि नगरपालिकाले उक्त आर्थिक सहयोगको घोषणा गरेको हो।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको भदौ महिनाको तलबबाट तह र श्रेणीअनुसार ३ देखि १० दिनसम्मको पारिश्रमिक कट्टा गरी संकलन गरिने सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
बाढीका कारण चौतारा साँगाचोकगढीका १२ जना नागरिक रसुवा क्षेत्रमा अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। उनीहरूको शीघ्र खोज तथा उद्धारका लागि केन्द्रीय कमान्ड पोस्टसँग निरन्तर समन्वय भइरहेको छ।
यसैगरी, विपद्का कारण बेपत्ता वा मृत्यु भएका आफ्ना नगरवासीका परिवारलाई नगरपालिकाले तत्काल राहतस्वरूप प्रतिपरिवार १ लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
नगर प्रमुख सापकोटाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार तथा राहतमा जुटेको बताए। साथै, नगरपालिकाले उद्धार र पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र र आम नगरवासीलाई अपिल गरेको छ।












