काठमाडौं — रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कुल ७२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै आफ्ना तर्फबाट ५१ लाख रुपैयाँ योगदान गरेको छ । यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले संकलन गरेको २१ लाख रुपैयाँ थप गरी कुल ७२ लाख रुपैयाँको एकमुष्ट रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रतिनिधिहरूले सो रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि भइरहेका प्रयासमा बल पुर्याउन यो सहयोग उपलब्ध गराइएको हो ।
विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार र पुनःस्थापनाको कार्यमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।












