२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारत र चीनले सहयोग बढाएका छन्। दुवै देशले राहत सामग्रीसँगै उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक प्राविधिक जनशक्ति र उपकरण नेपाल पठाएका हुन्।

भारतबाट चौथो चरणको सहायता

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार करिब ११ टन राहत सामग्री बोकेको चौथो विमान प्राविधिक टोलीसहित नेपालका लागि उडेको छ। नेपालमा जारी उद्धार तथा राहत अभियानमा भारतको सहयोग निरन्तर रहने उनले बताएका छन्।

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत खोजी तथा उद्धारमा प्रयोग हुने उपकरणसहित सुरुङ उद्धारका लागि प्राविधिक टोली काठमाडौं आइपुगेको भारतीय दूतावासले जनाएको छ।

त्यस्तै, बेपत्ता तथा मृतकको पहिचानमा सहयोग पुर्‍याउन डीएनए परीक्षणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोलीसमेत नेपाल आएको छ।

भारतबाट पछिल्लो पटक पठाइएको राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्रीलगायत छन्।

बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात पूर्वाधार पुनः सञ्चालनमा सहयोग गर्न भारतले पुल निर्माणका सामग्रीसमेत पठाएको छ।

जयशंकरका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक सामग्री बोकेका १६ वटा ट्रक नेपाल पठाइसकिएको छ। थप सातवटा बेली ब्रिज निर्माणका उपकरण तथा जडानका लागि आवश्यक प्राविधिक टोलीसमेत नेपाल आउने तयारीमा छन्।

भारतका अनुसार हालसम्म हवाई माध्यमबाट ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइसकिएको छ। यसअघि औषधि, पोर्टेबल जेनेरेटर, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा विपद् व्यवस्थापनका विभिन्न उपकरण नेपाल पठाइसकिएको छ।

चीनबाट ५० टन राहत सामग्री

यसैबीच चीनले पनि बाढीपहिरो प्रभावितका लागि करिब ५० टन आपत्कालीन राहत सामग्री नेपाल पठाएको छ।

आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० विमान राहत सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उपकरणसहित नेपाल आएका छन्।

विमानस्थलमा आयोजित कार्यक्रममा चीनले ल्याएको राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए।

चिनियाँ पक्षका अनुसार दुवै विमान चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएका हुन्। दुवै विमानमा गरी करिब ५० टन तौलका १३ हजार २०० थान आपत्कालीन सामग्री ल्याइएको छ।

ती सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचारका किटलगायत छन्।

बाढीपहिरोबाट नेपाल–चीन सीमा क्षेत्रसहित विभिन्न स्थानमा ठूलो क्षति भएपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले राहत सामग्री र विशेषज्ञ टोली पठाएको जनाएको छ।

विपद्को कठिन अवस्थामा भारत र चीनबाट प्राप्त राहत, उद्धार सामग्री तथा प्राविधिक सहयोगले प्रभावितको खोजी, उद्धार र पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।