बेत्रावती । नुवाकोटको आकाशमा छिनछिनमै हेलिकप्टर उडिरहेका छन् । भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत भएपछि उद्धार तथा राहतका लागि हेलिकप्टरको आवतजावत बढेको हो ।

सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा अहिले आफैंमा चुनौतीपूर्ण बनेको छ । नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस तथा सवारीसाधनको चहलपहलले भरिएको व्यस्त बजार थियो ।
तर केही मिनेटमै आएको भीषण बाढीले बेत्रावतीको परिचित दृश्य नै बदलिदिएको छ ।
जहाँ घर तथा पसल थिए, त्यहाँ अहिले ढुंगा, माटो, गेग्रान र भग्नावशेषको थुप्रो छ । कतै घर तथा संरचना आधा ढलेका छन् भने कतै बाढीले अन्यत्रबाट बगाएर ल्याएका घरका सामान, काठ र निर्माण सामग्री थुप्रिएका छन् ।
बाढीले सडक, पुल तथा आसपासका संरचनामा समेत ठूलो क्षति पुर्याएपछि बेत्रावतीको जनजीवन अस्तव्यस्त बनेको छ । केही दिनअघिसम्म चहलपहल हुने बजार अहिले सुनसान र त्रासदीपूर्ण देखिन्छ ।
उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र विभिन्न निकाय परिचालन भए पनि क्षतविक्षत सडक र जोखिमपूर्ण भूगोलका कारण प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।
बेत्रावतीमा अहिले बाढीले पुर्याएको क्षतिको दृश्य मात्र होइन, आफ्नो घर, पसल र वर्षौँको कमाइ गुमाएका स्थानीयको पीडा पनि उत्तिकै भयावह देखिन्छ ।











