काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि सरकारले अपनाएको नीति उचित नभएको बताउनुभएको छ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान नगरी जमिनमुनि व्यवस्थापन गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउनुभयो। डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी शव व्यवस्थापन गरिएको भए पनि यसबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उहाँको भनाइ छ।
‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ,’ पोखरेलले भन्नुभयो, ‘डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने हिसाबले शव व्यवस्थापन गरिएको अवस्था छ। तर पीडितहरूको दृष्टिकोणबाट हेर्दा उनीहरूलाई चित्त बुझेको अवस्था छैन। त्यसैले शव व्यवस्थापनका विषयमा सरकारले अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ।’
महासचिव पोखरेलले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एमालेले पार्टी पंक्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।
उहाँका अनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ।
पोखरेलले बाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वय गर्न फोकल पर्सन तोकेर अघि बढ्नुपर्ने बताउनुभयो। सम्बन्धित जिल्लामा तोकिने फोकल पर्सनले प्रभावित क्षेत्रका सूचना संकलन गरी पार्टीले सञ्चालन गर्ने राहत तथा उद्धारका गतिविधिमा समन्वय गर्ने उहाँले जानकारी दिनुभयो।











