काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको पाँच दिन बितिसक्दा पनि सुरुङ तथा पावरहाउसमा फसेका सयौँ श्रमिक र प्राविधिकको अवस्था अझै अज्ञात छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनाका गरी ८९८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । तीमध्ये ठूलो संख्या सुरुङ तथा पावरहाउसमा फसेको अनुमान गरिएको छ ।
बाढी आएको सय घण्टाभन्दा बढी समय बितिसक्दा पनि आवश्यक जनशक्ति, आधुनिक उपकरण, भौगोलिक जटिलता तथा पूर्वाधारको अभावका कारण उद्धारमा अपेक्षित गति आउन सकेको छैन ।
माथिल्लो त्रिशूली–१ मा मात्रै करिब ३०० जना सुरुङभित्र
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ठूलो संख्यामा श्रमिक सम्पर्कविहीन छन् । आयोजनाका अनुसार कुल ५७६ जना सम्पर्कविहीन भएकोमा हालसम्म २५४ जनाको उद्धार गरिएको छ भने करिब ३०० जना सुरुङभित्र फसेको अनुमान गरिएको छ ।
त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा २५ जना श्रमिक अझै फसेका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना सुरुङभित्र रहेको अनुमान गरिएको छ ।
सुरुङभित्र अक्सिजनको अभाव र बढ्दो चिसोका कारण फसेका श्रमिकको अवस्था थप जोखिमपूर्ण बन्दै गएको आयोजनाका प्रतिनिधिहरूले बताएका छन् ।
लाङटाङ आयोजनाका प्रवर्द्धक विजयमान भट्टराईले चार दिनसम्म ठोस उद्धार प्रयास सुरु हुन नसकेको भन्दै गुनासो गरेका छन् ।

आफन्तको एउटै प्रश्न–‘सास पाउने कि लास?’
रसुवाको धुन्चेमा आफ्ना आफन्तको उद्धारको प्रतीक्षामा बसेका परिवारको अवस्था निकै मर्मस्पर्शी बनेको छ ।
म्याग्दीबाट बेपत्ता बुवाको खोजीमा आएका एक बालकका मामा जसिन्द्र रसाइलीले आफ्नो गाउँ र छिमेकी जिल्लाबाट मात्रै २० जनाभन्दा बढी मानिस बेपत्ता रहेको बताएका छन् ।
उनका अनुसार सुरुङभित्र फसेकाहरू जीवितै रहेको परिवारको विश्वास छ । तर उद्धारमा ढिलाइ हुँदा आफन्तमा चिन्ता र आक्रोश बढ्दै गएको छ ।
विदेशी विशेषज्ञ परिचालन गरिएको सरकारको दाबी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले उद्धार कार्यलाई तीव्रता दिन भारतीय तथा चिनियाँ विशेषज्ञ टोलीसहित आधुनिक प्रविधि परिचालन गरिएको बताएका छन् ।
उनका अनुसार जोखिमयुक्त क्षेत्रमा स्क्यान गर्ने अत्याधुनिक उपकरण पठाइएको छ । उक्त प्रविधिबाट सुरुङभित्र जीवित वा मृत अवस्थामा रहेका व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ ।
भौगोलिक रूपमा निकै जटिल क्षेत्रमा उद्धार गर्नुपर्ने भएकाले केही समय लागिरहेको उनको भनाइ छ ।
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको छ ।
नेपाली सेनाका ६६, सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको टोलीले सुरुङको क्राउन हेडमा करिब २–३ फिटको प्वाल बनाएर भित्र प्रवेश गर्ने प्रयास गरेको छ ।
डोरीको सहायताले सुरुङभित्र झरेर आवाज दिँदा कुनै प्रतिक्रिया नआएको बताइएको छ । अब प्वाल फराकिलो बनाउन ब्लास्टिङलगायतका विकल्पबाट भित्र प्रवेश गर्ने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।
तर माथिल्लो त्रिशूली–१ र लाङटाङजस्ता दुर्गम क्षेत्रमा रहेका आयोजनामा भने प्रभावकारी उद्धार अझै सुरु हुन सकेको छैन ।
विदेशी प्राविधिकलाई अनुमति नदिएको इप्पानको आरोप
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले माथिल्लो त्रिशूली–१ का कोरियन प्राविधिकहरूले उद्धारको जिम्मेवारी लिन खोज्दा सरकारले अनुमति नदिएको आरोप लगाएका छन् ।
उनले विपद्को समयमा राष्ट्रियता वा प्रक्रियागत जटिलताभन्दा नागरिकको ज्यान बचाउनु प्राथमिकता हुनुपर्ने बताएका छन् ।
‘सुरुङमा फसेकाहरूलाई जति छिटो निकाल्यो, उति नै जीवित पाउने सम्भावना रहन्छ,’ डाँगीको भनाइ छ ।
निजी क्षेत्रलाई आफ्नै स्रोतबाट उद्धार गर्न दिन माग
नेपाल इन्जिनियर्स एसोसिएसन, इप्पान र नेपाल टनेलिङ एसोसिएसनलगायत संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै उद्धारमा निजी तथा सरकारी सबै स्रोत–साधन परिचालन गर्न माग गरेका छन् ।
उनीहरूले निजी क्षेत्रका प्रवर्द्धकलाई आफ्नै खर्चमा हेलिकप्टर प्रयोग गर्न दिन तथा आवश्यक प्रशासनिक प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गरेका छन् ।
सुरुङ उद्धारका लागि विशेष उपकरणसहितको दक्ष टोली तत्काल परिचालन गर्नुपर्ने उनीहरूको माग छ ।
३६१ जनाको जीवित उद्धार
इप्पानका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाबाट हालसम्म ३६१ जनाको जीवित उद्धार गरिएको छ ।
माथिल्लो त्रिशूली–१ बाट २५४ जना, लाङटाङ आयोजनाबाट १८ जना र माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ९१ जनाको उद्धार भएको छ ।
तर अझै ठूलो संख्यामा श्रमिक सम्पर्कविहीन रहेकाले उनीहरूको अवस्था तत्काल पत्ता लगाएर उद्धार गर्नुपर्ने दबाब बढेको छ ।
बाढी आएको पाँच दिन बितिसक्दा पनि सुरुङभित्र कति अक्सिजन बाँकी छ, कति श्रमिक जीवित छन् र उनीहरूलाई तत्काल कसरी बाहिर निकाल्ने भन्ने विषयमा स्पष्ट जानकारी आउन सकेको छैन । आफन्तहरू भने आफ्ना मान्छेको ‘सास पाउने कि लास?’ भन्ने पीडादायी प्रतीक्षामा छन् ।










