काठमाडौं । वैदेशिक रोजगारी वा अन्य कारणले केही वर्षका लागि विदेशमा रहेका व्यक्तिको जीवन बीमालेख परिपक्व हुने अवस्था आउन सक्छ। यस्तो अवस्थामा बीमाको रकम लिनका लागि बीमित स्वदेश फर्किनैपर्ने बाध्यता हुँदैन।

बीमालेख परिपक्व भएपछि विदेशमै रहेर पनि नेपालस्थित आफ्नो बैंक खातामा बीमा दाबी भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था छ। यसका लागि सबैभन्दा पहिले सम्बन्धित बीमा कम्पनीमा आफ्नो व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गराउनुपर्छ।
विदेशमा रहेका बीमितले सम्बन्धित बीमा कम्पनीको शाखा कार्यालयमा इमेलमार्फत केवाईसी अद्यावधिकका लागि अनुरोध गर्न सक्छन्। केवाईसी अद्यावधिक भएपछि परिवारका कुनै सदस्यमार्फत बीमा दाबी भुक्तानीको रकम आफ्नो बैंक खातामा जम्मा गरिदिन कम्पनीलाई अनुरोध गर्न सकिन्छ।
यसका लागि बीमितले बीमा कम्पनीलाई इमेलमार्फत अनुरोध गर्न वा हस्तलिखित निवेदन परिवारका सदस्यलाई पठाएर कम्पनीको कार्यालयमा दर्ता गराउन सक्ने व्यवस्था छ। दाबी भुक्तानीका लागि आवश्यक पर्ने सक्कल बीमालेख भने सम्बन्धित बीमकको शाखा कार्यालयमा पेश गर्नुपर्ने हुन्छ।
त्यस्तै, विदेश जानुअघि नै बीमालेखको हक परिवारका कुनै सदस्य वा अन्य व्यक्ति/संस्थालाई हस्तान्तरण गर्न सकिने विकल्प पनि हुन्छ। यसका लागि बीमित र हक हस्तान्तरण गर्न लागिएको व्यक्तिको राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित बीमा कम्पनीमा लिखित निवेदन दिनुपर्छ। निवेदनमा हक हस्तान्तरण गर्नुपर्ने उचित कारणसमेत खुलाउनुपर्ने हुन्छ।
बीमा नियमावली, २०७९ को नियम २२ मा बीमालेखको हक हस्तान्तरणसम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार बीमितले बीमालेख परिपक्व हुँदा वा परिपक्व हुनुअघि निजको मृत्यु भएको अवस्थामा बीमालेखबाट प्राप्त हुने सुविधा अन्य व्यक्ति वा संस्थाले पूर्ण वा आंशिक रूपमा प्राप्त गर्ने गरी हक हस्तान्तरण गर्न सक्छ।
हक हस्तान्तरण गर्नुअघि बीमितले त्यसको उचित कारणसहित बीमकलाई अनुरोध गर्नुपर्ने हुन्छ। कारण उपयुक्त देखिएमा बीमकले बीमितको मागअनुसार बीमालेखको हक हस्तान्तरण गरिदिन सक्छ। बीमालेख बहाल रहेको अवधिभित्र जुनसुकै समयमा हक हस्तान्तरण गर्न सकिने व्यवस्था रहेको छ।
यसरी विदेशमा रहेका बीमितले बीमालेख परिपक्व हुँदा रकम लिन स्वदेश फर्किनुपर्ने अवस्था नपर्ने देखिन्छ। आवश्यक प्रक्रिया पूरा गरी आफ्नै बैंक खातामा दाबी भुक्तानी लिन वा नियमअनुसार परिवारका सदस्य तथा अन्य व्यक्ति/संस्थालाई बीमालेखको हक हस्तान्तरण गर्न सकिन्छ।











