

नेपाल बीमा प्राधिकरणले बीमा बजारमा बढ्दै गएको गलत अभ्यास (Mis-selling) र भ्रामक प्रचारप्रसार नियन्त्रण गर्न सम्पूर्ण जीवन तथा लघु जीवन बीमकहरूका नाममा कडा निर्देशन जारी गरेको छ। बीमालेख खरिद गरेको केही समयमै बीचमै छाड्ने (सरेन्डर गर्ने) प्रवृत्ति बढेपछि प्राधिकरणले नियमनमा कडाइ गरेको हो।
बीमा ऐन, २०७९ र बीमा नियमावली, २०८१ बमोजिम जारी परिपत्रअनुसार अबदेखि बीमा योजनालाई बैंकको “Fixed Deposit”, “ब्याज दिने योजना”, वा “डबल मनी” जस्ता नाम दिएर बिक्री गर्न पाइनेछैन।
मुख्य निर्देशनहरू:
भ्रामक प्रचारमा पूर्ण रोक: स्वीकृत लाभबाहेक निश्चित बोनस वा प्रतिफलको झुटा आश्वासन दिन पाइने छैन।
स्पष्ट जानकारी अनिवार्य: प्रस्ताव पेस गर्दा यो कुनै निक्षेप वा मुद्दती खाता होइन भन्ने कुरा बीमितलाई बुझाउनै पर्नेछ।
उपयुक्त योजना मात्र सिफारिस: बीमितको आर्थिक क्षमता, उमेर, आयस्रोत र उद्देश्य हेरेर मात्र योजना सिफारिस गर्नुपर्नेछ।
अभिकर्ताको अनलाइन प्रचारमा कडाइ: सामाजिक सञ्जालमा बीमकले आधिकारिक रूपमा स्वीकृत गरेका सामग्रीबाहेक अभिकर्ताले आफूखुसी भ्रामक विज्ञापन गर्न पाउने छैनन्।
कारबाहीको चेतावनी: गलत बिक्रीसम्बन्धी गुनासोको अभिलेख राखी प्रत्येक त्रयमासमा प्राधिकरणमा पेस गर्नुपर्नेछ। नियम उल्लङ्घन गरेमा बीमा ऐन, २०७९ अनुसार कडा कानुनी कारबाही हुनेछ।











