२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सातवटा पोखरीको डिल अतिक्रमण गरी बनाइएका ६५ भन्दा बढी पक्की तथा अस्थायी संरचना डोजर लगाएर हटाइएको छ।

गुठी संस्थान तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित समितिले पहिलो चरणअन्तर्गत शनिबारदेखि अतिक्रमित संरचना हटाउन थालेको हो।

अतिक्रमण हटाउने क्रममा कतिपय पक्की घरको अगाडिको भाग तथा पर्खाल भत्काइएको छ भने बाँस, खर र माटोबाट बनाइएका कच्ची संरचना पूर्ण रूपमा हटाइएको छ। एउटा सार्वजनिक शौचालयसमेत भत्काइएको समितिले जनाएको छ।

पोखरीको डिलमा रहेका संरचना हटाएपछि यसअघि चहलपहल हुने कतिपय क्षेत्र सुनसान देखिएका छन्। भत्काइएका संरचनाका सामग्रीहरू सडक तथा आसपासका क्षेत्रमा असरल्ल छन् भने केही स्थानीय आफ्ना बाँकी सामान खोज्दै गरेको देखिन्छ।

स्थानीयका अनुसार पोखरीको चारैतिर संरचना निर्माण हुनुका साथै पानीको सतह घट्दै जाँदा ऐतिहासिक पोखरीहरूको अस्तित्व नै संकटमा परेको छ।

पेठिया बजारमा तरकारी व्यापार गर्दै आएका रसिर पूर्वेले जनकपुरको पहिचान र शान पोखरी, मठमन्दिर तथा कुटीहरू रहेको भन्दै अतिक्रमण हटाउने सरकारी कदम सकारात्मक भएको बताए।

समितिका प्रवक्ता जनक पोखरेलका अनुसार पहिलो चरणमा सातवटा पोखरीका डिलबाट ६५ भन्दा बढी पक्की तथा कच्ची संरचना हटाइएको हो। अन्य पोखरीका डिलको रेखांकन तथा सीमांकनको काम भइरहेको र क्रमशः अतिक्रमित क्षेत्र खाली गराउँदै जाने तयारी रहेको उनले बताए।

पहिलो चरणमा गोरधोई, विशहारा, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर र दीर्घिका सरका डिलबाट अतिक्रमण हटाइएको छ।

गुठी जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन गर्ने क्रममा पोखरीका डिलमा रहेका अतिक्रमित संरचना हटाउन सुरु गरिएको समितिले जनाएको छ।

समितिलाई बृहत्तर जनकपुर क्षेत्रअन्तर्गतका पोखरी, पोखरीका डिल, जानकी मन्दिर, राम मन्दिरलगायत प्रमुख मठमन्दिर तथा गुठी जग्गामा भएका अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ।

यसैगरी, उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ तथा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग–२०७६ को प्रतिवेदनमा उल्लेखित कार्यहरू कार्यान्वयन गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।