मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार नै पदबाट राजीनामा दिनुभएको थियो । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुभएको हो ।
गत साउन ६ गते नेकपा ९एमाले०ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
प्रदेश प्रमुखको आह्वानअनुसार अब बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ । दाबी पेस भएपछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।











