त्रिशूली । नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा दुई तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

दुप्चेश्वर महादेवको दर्शनका लागि तीर्थयात्री लिएर आएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस सडक छेउमा रोकिएका बेला आफैँ गुडेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको हो। घाइते अवस्थामा उद्धार गरी काठमाडौं पठाइएका उनीहरूको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालका अनुसार बस रोकिएपछि चालक र यात्रुहरू खाजा खान गएको समयमा बस आफैँ गुडेको थियो। अनियन्त्रित बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको विद्युतीय भ्यानलाई समेत ठक्कर दिएको थियो।
ठक्करपछि बस र भ्यान सडकबाट करिब ५० मिटर तल पुगेका थिए। दुर्घटनापछि बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












