काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ।

शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त भेला नयाँ पार्टी गठनका लागि आयोजना नगरिएको बताउनुभयो। समयअनुसार पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक रहेको उहाँको भनाइ छ।
आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्दै कोइरालाले अदालतको निर्णय विपक्षमा आए पनि सबै पक्षबीच छलफल गरेर पार्टीको आगामी नीति तय गरिने बताउनुभयो।
उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गर्नुभयो। परिस्थिति अपेक्षाअनुसार अघि नबढे सम्बन्धित पक्षसँग थप छलफल गरेर आवश्यक निर्णय लिइने उहाँले बताउनुभयो।
वर्तमान सरकारप्रति टिप्पणी गर्दै नेता कोइरालाले बहुमत हुँदाहुँदै पनि सरकारले ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिनुभयो।
कोइरालाले वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई समेत राजनीतिमा नकार्न नसकिने बताउनुभयो।











