काठमाडौँ।
नेपाली कांग्रेसले बदलिँदो राजनीतिक, आर्थिक तथा प्रविधिगत परिवेशलाई ध्यानमा राख्दै आफ्नो परम्परागत आर्थिक तथा सामाजिक नीतिमा व्यापक परिमार्जन गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौँमा आयोजित पार्टीको इतर पक्षको राष्ट्रिय भेलामा पूर्वअर्थमन्त्री एवं नेता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ नामक प्रस्ताव प्रस्तुत गर्दै उक्त अवधारणा अघि सार्नुभएको हो।
प्रस्ताव प्रस्तुत गर्दै नेता डा. महतले बीपी कोइरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादको मूल मर्मलाई कायम राख्दै नीतिहरूलाई समयसापेक्ष, व्यावहारिक र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो।
निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका, राज्य सहजकर्ता
कांग्रेसको नयाँ नीतिगत प्रस्तावमा समग्र अर्थतन्त्रको विकास र विस्तारमा निजी क्षेत्रलाई प्रमुख (नेतृत्वदायी) भूमिका दिने उल्लेख छ। सरकारलाई भने सहजकर्ता, उत्प्रेरक र नियामक भूमिकामा सीमित गरिनेछ। निजी क्षेत्रको पहुँच नपुग्ने, लगानी हुन नसक्ने वा सर्वसुलभ सेवा उपलब्ध गराउन कठिन हुने क्षेत्रमा मात्र राज्यले प्रत्यक्ष भूमिका निर्वाह गर्ने नीति लिइने दस्ताबेजमा समेटिएको छ।
युवा असन्तोष सम्बोधन र रोजगारी सिर्जना
युवा वर्गमा देखिएको असन्तोष र निराशाको मुख्य कारण रोजगारीको अभाव रहेको निष्कर्ष निकाल्दै कांग्रेसले स्वदेशमै गुणस्तरीय रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
यसका लागि:
निजी क्षेत्रको लगानीमा बाधा पुर्याउने पुराना कानुनहरूमा सुधार गर्ने।
साना तथा नयाँ उद्यमीका लागि परियोजनामा आधारित कर्जा (Project-based loans) उपलब्ध गराउने।
व्यावसायिक कसुरमा आर्थिक वा वित्तीय जरिवानालाई प्राथमिकता दिने व्यवस्था गर्ने।
कृषि, ऊर्जा र सूचना प्रविधिमा नयाँ रणनीति
कृषि: किसानलाई प्रोत्साहन गर्न अनुदानको रकम सिधै उनीहरूको बैंक खातामा (Direct Benefit Transfer) पठाउने, आयातित कृषि उपजमा भन्सार दर बढाउने र बाँझो जमिनलाई लिजमा दिएर व्यावसायिक तथा कर्पोरेट कृषिलाई प्रवर्द्धन गर्ने।
ऊर्जा: जलाशययुक्त जलविद्युत् आयोजनाहरूमा वैदेशिक लगानी भित्र्याउने, आन्तरिक खपत बढाउने र भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्न आवश्यक प्रसारण लाइन निर्माणलाई तीव्रता दिने।
सूचना प्रविधि (IT): शिक्षित युवाका लागि प्रविधिलाई रोजगारीको मुख्य माध्यम बनाउने, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग बढाउने र डाटा सुरक्षाका लागि कडा कानुनी ढाँचा तयार गर्ने।
पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार
पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, साहसिक र ‘वेडिङ डेस्टिनेसन’ (Wedding Destination) का रूपमा नेपाललाई प्रवर्द्धन गर्ने प्रस्ताव गरिएको छ। साथै, नेपाल वायुसेवा निगमको सञ्चालनलाई प्रभावकारी बनाउन विदेशी वायुसेवा कम्पनीहरूसँग रणनीतिक साझेदारी गर्ने योजना अघि सारिएको छ।
शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन राज्यले विशेष दायित्व लिनुपर्ने निष्कर्ष निकाल्दै विद्यालयको शैक्षिक नतिजालाई शिक्षकको सेवा-सुविधासँग जोड्ने, खुला प्रतिस्पर्धाबाट शिक्षक चयन गर्ने र नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने नीति लिइने उल्लेख छ।
यसैगरी, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र स्वीकार गर्ने र गैरआवासीय नेपाली (NRN) हरूको ज्ञान, सीप र पुँजीलाई मुलुकको विकासमा परिचालन गर्ने नीति कांग्रेसले अघि सारेको छ।












