काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनले ७७ वर्ष पूरा गरेर ७८ औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा विभिन्न कम्युनिष्ट दलका शीर्ष नेताहरूले आन्दोलनको उपलब्धि, चुनौती र आगामी दिशा बारे चर्चा गरेका छन्। उनीहरूले विगतका कमजोरीहरूको आत्मसमीक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र सुदृढीकरण गर्ने आवश्यकता औंल्याएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले कम्युनिष्ट आन्दोलनको ७७ वर्षे यात्रामा अनेक अप्ठ्यारा, विभाजनका पीडा, एकताका उत्साह र पराजयका चुनौतीपूर्ण क्षणहरू अनुभव गरिएको बताउनुभयो। उहाँले संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य लगायतका नेताहरूप्रति सम्मान व्यक्त गर्दै शहीदहरू तथा आन्दोलनमा योगदान दिने योद्धा र उनीहरूका परिवारजनप्रति श्रद्धा प्रकट गर्नुभयो।
प्रचण्डले आगामी छ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने, युवा नेतृत्वलाई तलदेखि माथिसम्म प्राथमिकता दिने र पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने योजना रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै उहाँले विश्वमा बढ्दो द्वन्द्व र तनावले कम्युनिष्ट आन्दोलनको अन्तर्राष्ट्रिय जिम्मेवारी अझ बढाएको उल्लेख गर्नुभयो।
लेनिन जयन्तीको सन्दर्भ जोड्दै प्रचण्डले विगतका गल्ती–कमजोरीको आत्मचिन्तन भइरहेको बताउनुभयो। “हामीले जहाँ कमजोरी भयो त्यसको वस्तुवादी समीक्षा गर्नैपर्छ। जनताले हामीलाई घृणा गरेको होइन, सबक सिकाएको हो,” उहाँले भन्नुभयो।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन अहिले गम्भीर संकटमा रहेको बताउनुभयो। वि.सं. २००६ साल वैशाख ९ गते कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको इतिहास स्मरण गर्दै उहाँले संस्थापक नेताहरूको योगदानको चर्चा गर्नुभयो। उहाँका अनुसार पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र महिला नेतृ मोतीदेवीलाई संस्थापकका रूपमा स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो।
नेता नेपालले पछिल्लो निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का दिएको विश्लेषण गर्दै ७७ वर्षको इतिहासको समग्र समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले असफलताबाट नआत्तिन आग्रह गर्दै विश्व कम्युनिष्ट आन्दोलनका उदाहरण प्रस्तुत गर्नुभयो।
यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष **रामबहादुर थापा ‘बादल’**ले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त नगरी समाजवादको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो। उहाँले कम्युनिष्ट आन्दोलनले २००७ सालको राजनीतिक परिवर्तनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको धक्काबाट निराश नहुन आग्रह गर्दै एमाले पुनः राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने शक्तिका रूपमा उठ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीले विगतका कमजोरीहरूको निर्ममतापूर्वक समीक्षा गर्ने र जनताको आलोचनालाई स्वीकार गर्दै जनतामाझ फर्किने बताउनुभयो।

त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले पार्टी अब केन्द्रमुखी र सत्तामुखी मानसिकताबाट मुक्त भएर पूर्ण रूपमा जनतातिर फर्कनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले पछिल्लो समय युवा, शहरी मध्यम वर्ग, प्रवासी नेपाली तथा भूमिहीन सुकुम्बासीहरू पार्टीबाट टाढिँदै गएको स्वीकार गर्दै ती वर्गसँग पुनः सम्बन्ध स्थापित गर्न आवश्यक रहेको बताउनुभयो।
नेताहरूले कम्युनिष्ट आन्दोलनको इतिहास, उपलब्धि र चुनौतीहरूको समीक्षा गर्दै संगठन सुदृढीकरण, एकता र जनतामुखी कार्यदिशाबाट मात्रै आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सकिनेमा जोड दिएका छन्।









