
काठमाडाैं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा हेरफेर गर्दै नयाँ कार्यसमिति पुनर्गठन गरिएको छ।
कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले तीन जना सञ्चालकको राजीनामा स्वीकृत गरेको हो। जसमा संस्थापक समूह ‘क’ बाट अमित मोर र समूह ‘ख’ बाट राजीव मोर तथा शुभेच्छा खरेलले पदबाट राजीनामा दिएका छन्।रिक्त पदहरूमध्ये समूह ‘क’ को कालिका फिन्कोर्पको तर्फबाट दिपककुमार मिश्रलाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरिएको छ।
यस्तै, कम्पनीले स्वतन्त्र सञ्चालकको जिम्मेवारी आशीषचन्द्र न्यौपानेलाई सुम्पेको छ। नवनियुक्त दुवै सञ्चालकहरूको कार्यकाल आगामी वार्षिक साधारणसभासम्म रहने कम्पनीले जानकारी दिएको छ।
एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरे ।यस समझदारी पश्चात यस बैंकका ग्राहकहरुले नयाँ बानेश्वर, काठमाडौंमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरु (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्नु सक्नुहुनेछ ।
साथै, ग्राहकहरुले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्नेछन् ।यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनले ७७ वर्ष पूरा गरेर ७८ औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा विभिन्न कम्युनिष्ट दलका शीर्ष नेताहरूले आन्दोलनको उपलब्धि, चुनौती र आगामी दिशा बारे चर्चा गरेका छन्। उनीहरूले विगतका कमजोरीहरूको आत्मसमीक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र सुदृढीकरण गर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले कम्युनिष्ट आन्दोलनको ७७ वर्षे यात्रामा अनेक अप्ठ्यारा, विभाजनका पीडा, एकताका उत्साह र पराजयका चुनौतीपूर्ण क्षणहरू अनुभव गरिएको बताउनुभयो। उहाँले संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य लगायतका नेताहरूप्रति सम्मान व्यक्त गर्दै शहीदहरू तथा आन्दोलनमा योगदान दिने योद्धा र उनीहरूका परिवारजनप्रति श्रद्धा प्रकट गर्नुभयो।
प्रचण्डले आगामी छ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने, युवा नेतृत्वलाई तलदेखि माथिसम्म प्राथमिकता दिने र पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने योजना रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै उहाँले विश्वमा बढ्दो द्वन्द्व र तनावले कम्युनिष्ट आन्दोलनको अन्तर्राष्ट्रिय जिम्मेवारी अझ बढाएको उल्लेख गर्नुभयो।
लेनिन जयन्तीको सन्दर्भ जोड्दै प्रचण्डले विगतका गल्ती–कमजोरीको आत्मचिन्तन भइरहेको बताउनुभयो। “हामीले जहाँ कमजोरी भयो त्यसको वस्तुवादी समीक्षा गर्नैपर्छ। जनताले हामीलाई घृणा गरेको होइन, सबक सिकाएको हो,” उहाँले भन्नुभयो।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन अहिले गम्भीर संकटमा रहेको बताउनुभयो। वि.सं. २००६ साल वैशाख ९ गते कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको इतिहास स्मरण गर्दै उहाँले संस्थापक नेताहरूको योगदानको चर्चा गर्नुभयो। उहाँका अनुसार पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र महिला नेतृ मोतीदेवीलाई संस्थापकका रूपमा स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो।
नेता नेपालले पछिल्लो निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का दिएको विश्लेषण गर्दै ७७ वर्षको इतिहासको समग्र समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले असफलताबाट नआत्तिन आग्रह गर्दै विश्व कम्युनिष्ट आन्दोलनका उदाहरण प्रस्तुत गर्नुभयो।
यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष **रामबहादुर थापा ‘बादल’**ले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त नगरी समाजवादको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो। उहाँले कम्युनिष्ट आन्दोलनले २००७ सालको राजनीतिक परिवर्तनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको धक्काबाट निराश नहुन आग्रह गर्दै एमाले पुनः राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने शक्तिका रूपमा उठ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीले विगतका कमजोरीहरूको निर्ममतापूर्वक समीक्षा गर्ने र जनताको आलोचनालाई स्वीकार गर्दै जनतामाझ फर्किने बताउनुभयो।
त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले पार्टी अब केन्द्रमुखी र सत्तामुखी मानसिकताबाट मुक्त भएर पूर्ण रूपमा जनतातिर फर्कनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले पछिल्लो समय युवा, शहरी मध्यम वर्ग, प्रवासी नेपाली तथा भूमिहीन सुकुम्बासीहरू पार्टीबाट टाढिँदै गएको स्वीकार गर्दै ती वर्गसँग पुनः सम्बन्ध स्थापित गर्न आवश्यक रहेको बताउनुभयो।
नेताहरूले कम्युनिष्ट आन्दोलनको इतिहास, उपलब्धि र चुनौतीहरूको समीक्षा गर्दै संगठन सुदृढीकरण, एकता र जनतामुखी कार्यदिशाबाट मात्रै आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सकिनेमा जोड दिएका छन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययनका लागि बिदा लिएका शिक्षकहरू समयमै उपाधि पूरा नगरी विदेश पलायन हुने क्रम बढेपछि विश्वविद्यालयले कडाइका साथ कारबाही गर्ने तयारी गरेको छ।
विश्वविद्यालयले एमफिल वा विद्यावारिधि अध्ययनका लागि दिइने बिदाको दुरुपयोग गर्ने शिक्षकहरूलाई काममा फर्कन वा खाइपाइ आएको तलब–भत्ता फिर्ता गर्न आग्रह गरेको थियो। तर, पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरू कार्यरत शिक्षण संस्था तथा कार्यालयमै परिपत्र गरी कारबाही गर्ने तयारी गरिएको विश्वविद्यालयले जनाएको छ।
त्रिविका अनुसार ५९७ जनाले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई शैक्षिक क्षति पुर्याएका छन्। अध्ययन बिदा दुरुपयोग गर्ने १२ जना शिक्षकबाट विश्वविद्यालयले हालसम्म ६ करोड रुपैयाँ असुलेको छ।
त्रिवि व्यवस्थापन संकायको केन्द्रीय विभागमा सहप्राध्यापक रहेका जगत तिमिल्सिनाले २०७७ सालमा विद्यावारिधि अध्ययनका लागि बिदा लिएका थिए। उनी Prince of Songkla University (थाइल्याण्ड) मा ग्रीन मार्केटिङ विषयमा पीएचडी अध्ययन गर्न तीन वर्षको अध्ययन बिदामा गएका थिए। तर समयमै उपाधि पूरा गर्न नसकेपछि २०८० सालमा पुनः विश्वविद्यालयमा फर्केर नियमित अध्यापन सुरु गरेका थिए।
पछि नेपाली कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि तिमिल्सिनाले कबुलनामाअनुसार विद्यावारिधि पूरा गर्न नसकेकाले खाइपाइ आएको तलब–भत्तासहित १० प्रतिशत ब्याज जोडेर ३३ लाख ५० हजार रुपैयाँ विश्वविद्यालयलाई फिर्ता गरेका छन्।
त्यस्तै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित आनन्दबहादुर चन्दले पनि अध्ययन बिदा लिएर पूरा गर्न नसकेको अध्ययनको तलब–भत्ता १० प्रतिशत ब्याजसहित विश्वविद्यालयलाई फिर्ता गरेका छन्।
विश्वविद्यालयका अनुसार २०७१ देखि २०८१ सालसम्म ५८९ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन भएका वा उपाधि पूरा नगरी सम्पर्कविहीन भएका छन्। त्यसमध्ये ४६ जना सम्पर्कमा आए पनि १२ जनाले ३३ लाखदेखि ५२ लाख रुपैयाँसम्म गरी करिब ६ करोड रुपैयाँ बुझाइसकेका छन्।
विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षकबाट करिब १ अर्ब २० करोड रुपैयाँभन्दा बढी असुलउपर गर्ने लक्ष्य राखेको छ। तर १० वर्षभन्दा बढी समय बितेका शिक्षकहरूको हकमा साँवाभन्दा ब्याज दोब्बरभन्दा बढी हुने भएकाले अपेक्षित रूपमा रकम असुल हुन नसकेको विश्वविद्यालयको भनाइ छ।
त्रिविले अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षकहरूको पहिचान गरी उनीहरू कार्यरत शैक्षिक संस्था वा कार्यालयमै परिपत्र पठाएर कारबाही गर्ने योजना बनाएको छ। अध्ययन बिदा लिएर नफर्किँदा विश्वविद्यालयका केन्द्रीय क्याम्पस विभाग तथा ६२ वटा आंगिक क्याम्पसमा अध्यापन व्यवस्थापनमा समस्या भएको बताइएको छ।
विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याई योग्य शिक्षक व्यवस्थापन गर्दै शिक्षण–सिकाइ र शैक्षिक गुणस्तर सुधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ। साथै विश्वविद्यालयका शिक्षकहरूले नीति–नियम पालना गर्दै अनुशासित र नैतिक आचरण कायम गर्नुपर्नेमा पनि जोड दिइएको छ।![]()
दिक्तेल, खोटाङ । एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा, जेकु र आइकारले दिक्तेलमा आयोजित “वैज्ञानिक अन्वेषण तथा विज्ञान गण प्रदर्शनी – २०८३” मा सहभागिता जनाएका छन्।
हिमालय माध्यमिक विद्यालय सोल्मा दिक्तेलद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसनसँगको सहकार्यमा वैशाख ३ देखि ७ गतेसम्म उक्त वैज्ञानिक प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीमार्फत यी ब्रान्डहरूले नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै विद्यार्थी, युवा तथा विज्ञानप्रेमीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेका छन्। विशेषगरी विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधि प्रदर्शन गरी स्वच्छ, स्मार्ट र दिगो यातायातबारे जनचेतना फैलाउने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।
प्रदर्शनीमा सहभागीहरूले ईभी प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै भविष्यको यातायात प्रणालीबारे जानकारी हासिल गर्न सक्नेछन्।
एसपीजी अटोमोबाइल्स विराटनगर शाखाका सिनियर सेल्स म्यानेजर धिरेन्द्र प्रधानका अनुसार दिक्तेलमा पहिलो पटक आइकार गाडी डिस्प्ले गरिँदा स्थानीय तथा काठमाडौंबाट आएका सवारी पारखीहरू आकर्षित भएका छन्। नेपालमा ५० लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको उक्त ‘स्पोर्टी कार’ अफरोडमा समेत सहज रूपमा चलाउन सकिने उनले बताए।
ग्राहकहरूको दीर्घकालीन विश्वास सुनिश्चित गर्न यी ब्रान्डहरूले ११ वर्षसम्मको विस्तारित वारन्टी सुविधा पनि उपलब्ध गराएका छन्। यसअन्तर्गत ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म (जुन पहिले हुन्छ) वारन्टी प्रदान गरिने बताइएको छ।
हाल देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरमार्फत ओमोडा, जेकु र आइकारले बिक्री तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लगेका छन्।
बलेफी गाउँपालिका-१ जलविरेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।
विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिका लगायतको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख,क्षयरोगको स्कृनिङ, एक्सरे सेवा , स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा तथा औषधि प्रदान गरिएको छ ।
शिविरको पहिलो दिन ७ सय ६० जनाले सेवा लिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताउनुभयो ।
भोलि बलेफीको वडा नं ४ मा शिविर आयोजना गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले
स्वास्थ्य शिविरमा परिक्षण पछि कुनै रोग देखिए प्रदेश सरकारले सहयोग गरेर उपचार गरिने बताउनुभयो ।
बर्षौ देखिको रोगको उपचार होस भनेर शिविर बिगत बर्ष झै आयोजना गरिएको उहाँको भनाई छ ।
जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको भौतिक संरचना बनेको बताउदै अब जनशक्ति , उपकरण लगायतका लागि
छिमेकी पालिकाहरु समन्वय सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनशक्ति उत्पादनका लागि पढाई सुरु गरेको र व्यवस्थापन गरेर स्थानीय तहमा पुर्याउने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले बिभिन्न कार्यक्रम मार्फत स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मन्त्री थापा मगरले बताउनुभयो ।एक जिल्ला एक स्वास्थ्य शहर ,एक पालिका एक नमुना स्वास्थ्य संस्था लगायत कार्यक्रम प्रदेशले सन्चालन गर्न थालेको उहाँले बताउनुभयो ।९८ प्रकारका निशुल्क औषधि कसरि प्रदेशका नागरिकलाई सहज र प्रभावकारी रुपमा पुर्याउन सकिन्छ भनेर सरकार लागि परेको उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री पौडेल तथा अमृता नेपालले शिविर आयोजक प्रति धन्यवाद ज्ञापन गर्दै गाउँ गाँउमा स्वास्थ्य शिविर अझै सन्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले प्रदेश सरकारले यस क्षेत्रमा स्वास्थ्य संस्थाको लागि पर्याप्त जनशक्ति र उपकरण उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले मन्त्रालय तथा पालिकाको सहयोगमा गाउँ गाउँमा शिविर सन्चालन गरिएको बताउँदै थप उपचारको लागि चौतारा, भक्तपुर , धुलिखेल लगायत अस्पतालमा रिफर गरिने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले अस्पतालको भौतिक संरचना भएपनि जनशक्ति र श्रोत अभाव रहेकाले प्रदेश सरकारलाई सहयोगको आग्रह गर्नुभयो । उहाँले आवश्यक चिकित्सक, कर्मचारी तथा उपकरण उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदैँ वडा नं १ का अध्यक्ष एवम जलविरे प्राथमिक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हुप बहादुर खड्काले अस्पतालको भौतिक संरचना निर्माण संगै अब आवश्यक जनशक्ति र उपकरणको अभाव रहेको बताउनुभयो ।
काठमाडौं । सामाजिक सुरक्षा कोष ले घर किन्नका लागि उपलब्ध गराउँदै आएको कर्जाको सीमा बढाएको छ।
कोषले अब योगदानकर्तालाई अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने निर्णय गरेको हो। यसअघि यस्तो कर्जाको सीमा ७५ लाख रुपैयाँ मात्र रहेको थियो।
कोषका अनुसार वैशाख ४ गतेदेखि नयाँ व्यवस्था लागू भएको हो। नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा प्राप्त गर्न सक्नेछन्।
कोषले जनाएको छ कि योगदानकर्ताले धितो तथा मासिक किस्ता तिर्न सक्ने क्षमताका आधारमा कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।
हाल कोषले योगदानकर्ताका लागि चार प्रकारका सापटी सुविधा सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी समावेश छन्।
कोषले योगदानकर्ताको सामाजिक सुरक्षालाई बलियो बनाउने तथा उनीहरूको आवासलगायत विभिन्न आवश्यकतामा आर्थिक सहयोग पुर्याउने उद्देश्यले यस्तो कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
काठमाडौं । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुक
मार्फत उनले प्रलोपासँगको करिब पाँच महिना लामो आफ्नो राजनीतिक यात्रा टुङ्गिएको घोषणा गरेका हुन्।
राजीनामा घोषणासँगै किरातीले यस अवधिमा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, साथ सहयोग गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले पार्टीमा बिताएको पाँच महिनाको अनुभवलाई आफ्नो राजनीतिक जीवनको अमूल्य सम्पत्तिको रूपमा आत्मसात गरेको बताएका छन्।
किरातीले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै उनले जनसमुदायको भरोसा र शहीदहरूको अधुरो सपनालाई मुटुमा राखेर देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो आगामी राजनीतिक बाटो सजिलो नहुने स्वीकार गर्दै पनि जनताको विश्वास र शहीदहरूको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने दृढता व्यक्त गरेका छन्।





