
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म १४ जीवन बीमा कम्पनीले कुल ४४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा चालु आर्थिक वर्षमा नवीकरण बीमाशुल्क संकलन १२.८० प्रतिशतले वृद्धि भएको हो।
नवीकरण बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले असोज मसान्तसम्म ११ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ७४ करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो। यो ७.७३ प्रतिशतको वृद्धि हो।
त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स ५ अर्ब २४ करोड ९४ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ। कम्पनीको नवीकरण बीमाशुल्क संकलन गत वर्षको तुलनामा २०.१८ प्रतिशतले बढेको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ र हिमालयन लाइफले ४ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ संकलन गरेका छन्।
अन्य कम्पनीतर्फ सूर्यज्योति लाइफले २ अर्ब ६२ करोड ६९ लाख, एसियन लाइफले २ अर्ब १० करोड ९१ लाख, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७७ लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब ६० करोड ३५ लाख र आइएमई लाइफले १ अर्ब ४० करोड ६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
यसैगरी मेटलाइफले १ अर्ब ३९ करोड ७२ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २८ करोड ९० लाख, रिलायबल नेपाल लाइफले १ अर्ब २४ करोड १० लाख र सन नेपाल लाइफले ८६ करोड ४५ लाख रुपैयाँ संकलन गरेका छन्।
नवीकरण बीमाशुल्क वृद्धिदरका आधारमा आइएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको संकलन गत वर्षको तुलनामा ३१.१६ प्रतिशतले बढेको छ। त्यस्तै नेसनल लाइफको २०.१८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १९.३५ प्रतिशत र रिलायबल नेपाल लाइफको १८.४३ प्रतिशतले वृद्धि भएको छ।
तथ्यांकअनुसार समीक्षा अवधिमा सबै १४ जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क संकलन बढेको छ। यसले जीवन बीमा व्यवसायमा पुराना बीमालेखको निरन्तरता तथा नवीकरणबाट प्राप्त हुने आम्दानीमा सकारात्मक वृद्धि भएको देखाउँछ।
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले पदभार ग्रहण गरेका छन्। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास, विस्तार र सुधारका लागि निडर तथा निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिएका थिए।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थापाले करिब तीन दशक बैंकिङ क्षेत्रमा बिताएका छन्। उनी पछिल्लो समय राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत थिए। आगामी चैतमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका थापा अब बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा पुगेका हुन्।
थापासँग वित्तीय संस्था तथा बैंकको सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव छ। उनले राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा समेत काम गरिसकेका छन्। त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य र लगानी समितिको संयोजकको जिम्मेवारी पनि सम्हालेका थिए।
व्यवस्थापन, अर्थशास्त्र र कानुन विषयमा उच्च शिक्षा हासिल गरेका थापाले व्यवस्थापनमा एमफिल तथा भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्। बैंकिङ तथा व्यवस्थापनसम्बन्धी पुस्तक लेखन र अनुसन्धानमा सक्रिय उनले सयभन्दा बढी अनुसन्धानमूलक लेखसमेत प्रकाशित गरेका छन्।
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो। यस वर्ष संकलन रकम ३३.६७ प्रतिशतले बढेको हो।
प्रथम बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले असोज मसान्तसम्म ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ संकलन गरेको कम्पनीको वृद्धिदर १६.३७ प्रतिशत रहेको छ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत वर्षको तुलनामा कम्पनीको संकलन ६०.४६ प्रतिशतले बढेको हो। अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ र नेशनल लाइफ मात्र रहेका छन्।
तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८८ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ। त्यस्तै, एलआईसी नेपालले ८१ करोड ३९ लाख र सिटिजन लाइफ इन्स्योरेन्सले ७७ करोड २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
यसैगरी आईएमई लाइफले ७३ करोड ९४ लाख, हिमालयन लाइफले ६९ करोड १७ लाख, एशियन लाइफले ६७ करोड ३३ लाख र सानिमा रिलायन्स लाइफले ६४ करोड २२ लाख रुपैयाँ संकलन गरेका छन्।
रिलायबल नेपाल लाइफले ६० करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा प्रभु महालक्ष्मी लाइफले ५५ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ। मेट लाइफले ४६ करोड ९९ लाख र सन नेपाल लाइफले ३३ करोड २० लाख रुपैयाँ संकलन गरेका छन्।
वृद्धिदरका आधारमा भने आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको प्रथम बीमाशुल्क संकलन गत वर्षको तुलनामा ७४.१० प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु महालक्ष्मी लाइफको संकलन ७२.०२ प्रतिशतले बढेको छ। सन नेपाल लाइफले ६८.२१ प्रतिशत र नेशनल लाइफले ६०.४६ प्रतिशतको वृद्धि हासिल गरेका छन्।
यता, राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क संकलन भने घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० करोड ३६ लाख रुपैयाँ मात्र संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको कम्पनीको आम्दानी ३३.२२ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा प्रथम बीमाशुल्क संकलन घट्ने राष्ट्रिय जीवन बीमा कम्पनी एक मात्र रहेको छ। समग्रमा जीवन बीमा बजारमा नयाँ बीमालेख बिक्रीबाट प्राप्त हुने प्रथम बीमाशुल्क संकलनमा सुधार देखिएको छ।
नवलपुर,सिन्धुपाल्चोक।इन्द्रावती गाउँपालिकाले पालिकामा एक करोड ६३ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको भन्ने समाचारको खण्डन गरेको छ। गाउँपालिकाले उक्त समाचार तथ्यहीन, कपोलकल्पित र भ्रामक भएको दाबी गरेको हो।
गाउँपालिका अध्यक्ष झम्क नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा गत कार्तिक १३ गते प्रकाशित ‘स्थानीय तहमा मौलाएको अनियमितता : इन्द्रावती गाउँपालिकामा १ करोड ६३ लाख ५८ हजार २६६ रुपैयाँको अनियमितता’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
गाउँपालिकाका अनुसार महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा समाचारमा उल्लेख गरिएको रकमसँग मेल खाने विवरण छैन। विगतका बेरुजु घटाउँदै लगेको उल्लेख गर्दै गाउँपालिकाले सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सबैभन्दा कम ०.४६ प्रतिशत बेरुजु रहेको दाबी गरेको छ।
त्यस्तै, वित्तीय तथा संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा देशभरका ७५० गाउँपालिकामध्ये दोस्रो, संस्थागत क्षमता स्वमूल्याङ्कन (FRA) मा दोस्रो तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्लामै पहिलो स्थान हासिल गरेको विज्ञप्तिमा उल्लेख छ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्याङ्कनमा समेत गाउँपालिकाभित्रका माध्यमिक विद्यालय जिल्लामै दोस्रो स्थानमा रहेको गाउँपालिकाको दाबी छ।
गाउँपालिकाले पूर्वाग्रह र व्यक्तिगत स्वार्थबाट प्रेरित भएर तथ्यहीन तथा भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ। व्यावसायिक पत्रकारिताको मर्मअनुसार खोजमूलक, निष्पक्ष र तथ्यमा आधारित समाचार प्रकाशन गर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
विकास निर्माण तथा सेवा प्रवाहका क्रममा देखिएका कमीकमजोरी सुधार गर्दै अघि बढ्न गाउँपालिका सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।






