२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी) को प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। विशेषगरी ३० देखि ४० लाख रुपैयाँको मूल्य सेग्मेन्ट अहिले विभिन्न ब्रान्डका लागि महत्वपूर्ण बजार बनेको छ।

ग्राहकलाई आकर्षित गर्न कम्पनीहरूले मूल्य घटाउनुका साथै बढी रेन्ज, आधुनिक प्रविधि, सुरक्षा प्रणाली र प्रिमियम फिचर भएका मोडल ल्याइरहेका छन्। हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोले पनि ४० लाख रुपैयाँभन्दा कम मूल्यका ईभीप्रति बजारको चासो स्पष्ट देखाएको छ।

एउटै मूल्य आसपासमा धेरै विकल्प आएपछि ग्राहकका लागि पनि कुन मोडल रोज्ने भन्ने विषय चुनौतीपूर्ण बनेको छ। त्यसैले मूल्य, ब्याट्री, रेन्ज, मोटर पावर, फिचर र सुरक्षालाई आधार मान्दा ४० लाख रुपैयाँभन्दा कम मूल्यमा यी ईभीहरू चर्चामा छन्।

१. नामी भिगो : ४० लाखमुनि ठूलो ब्याट्री र दमदार फिचर

४० लाख रुपैयाँभन्दा कम मूल्यमा तुलनात्मक रूपमा धेरै सुविधा खोज्ने ग्राहकका लागि नामी भिगो आकर्षक विकल्प बनेको छ।

एमएडब्लू वृद्धिले यसको मूल्य घटाएर ३७ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। मूल्य घटेसँगै यो मोडलको प्रतिस्पर्धात्मक क्षमता पनि बढेको देखिन्छ।

भिगोमा ५१.८७ किलोवाट आवरको ब्याट्री छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिन्छ। ९९ किलोवाटको मोटर र १९० एमएम ग्राउन्ड क्लियरेन्सले यसलाई शहरी सडकसँगै लामो दूरीका लागि पनि उपयोगी बनाउने अपेक्षा गर्न सकिन्छ।

सुरक्षातर्फ ६ एयरब्याग, ३६० डिग्री क्यामेरा र एडास जस्ता सुविधा छन्। थ्रीसी फास्ट चार्जिङ सपोर्टले चार्जिङ समय घटाउने लक्ष्य राखेको छ।

२. आर्कफक्स टी वान : ३३ लाखमै प्रिमियम फिचरको प्रयास

नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको आर्कफक्स टी वान ४० लाखमुनिको सेग्मेन्टमा नयाँ प्रतिस्पर्धी हो।

लक्ष्मी मोटरहबले यसको एलभी २ को मूल्य ३२ लाख ९६ हजार र एलभी ३ को मूल्य ३५ लाख ९६ हजार रुपैयाँ तोकेको छ।

यसमा ७० किलोवाटको मोटर र ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ। डब्लूएलटीपीअनुसार यसको रेन्ज ३१० किलोमिटरसम्म रहेको बताइएको छ। डिसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २५ मिनेट लाग्ने दाबी गरिएको छ।

ठूलो एचडी टचस्क्रिन, हिटेड तथा भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ र लेन डिपार्चर वार्निङजस्ता सुविधा यसको मुख्य आकर्षण हुन्।

३. चेरी क्यू : इन्ट्री लेभलमा प्रविधिको फोकस

कम बजेटमा क्रसओभर एसयूभी खोज्ने ग्राहकका लागि चेरी क्यू पनि नयाँ विकल्पका रूपमा आएको छ।

पायोनियर मोटोकर्पले यसको कम्फर्ट भेरियन्ट ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्ट ३५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ।

रियर ह्वील ड्राइभमा आधारित यस गाडीमा ९० किलोवाटको मोटर र ४१.२८ किलोवाट आवरको ब्याट्री छ। कम्पनीका अनुसार यसले एकपटक चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्छ।

प्रविधिका हिसाबले ठूलो फ्लोटिङ स्क्रिन, क्वालकम स्न्यापड्रायन चिप र एआईमा आधारित भ्वाइस कमान्ड यसको विशेषता हुन्। सुरक्षामा ६ एयरब्याग, ५४० डिग्री सराउन्ड क्यामेरा र एडास उपलब्ध छन्।

४. पन्च ईभी : स्थापित मोडलसँग नयाँ प्रतिस्पर्धा

नेपाली बजारमा पहिलेदेखि नै राम्रो उपस्थिति बनाएको टाटा पन्च ईभी पनि ४० लाख रुपैयाँमुनिको बजारमा बलियो विकल्प हो।

सिप्रदी ट्रेडिङले यसको मूल्य ३३ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ।

पन्च ईभीमा ३० र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प छन्। यी ब्याट्रीले क्रमशः २७५ देखि ३६५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ।

६५ किलोवाट डिसी फास्ट चार्जिङ सपोर्ट, दुईवटा डिजिटल डिस्प्ले, वायरलेस चार्जिङ र भेन्टिलेटेड सिटजस्ता फिचरले यसको आकर्षण बढाएका छन्। सुरक्षामा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम दिइएको छ।

ग्राहकका लागि बढ्यो छनोट, कम्पनीबीच प्रतिस्पर्धा चर्कियो

४० लाख रुपैयाँमुनिको ईभी बजारमा अहिले मूल्य मात्रै प्रतिस्पर्धाको आधार रहेन। कम्पनीहरूले बढी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ, एडास, ३६०/५४० डिग्री क्यामेरा र प्रिमियम इन्टेरियरजस्ता सुविधा दिएर ग्राहक तान्ने प्रयास गरिरहेका छन्।

यसले उपभोक्तालाई एउटै बजेटमा पहिलेभन्दा धेरै विकल्प दिएको छ। तर कुन गाडी उत्कृष्ट भन्ने कुरा भने ग्राहकको बजेट, दैनिक यात्रा, चार्जिङ पहुँच, रेन्जको आवश्यकता र प्रयोगको प्राथमिकतामा निर्भर हुनेछ।

समग्रमा हेर्दा ४० लाख रुपैयाँभन्दा कमको ईभी सेग्मेन्ट नेपाली बजारमा अहिले सबैभन्दा तीव्र प्रतिस्पर्धा हुने क्षेत्रमा परिणत हुँदै गएको छ। आगामी दिनमा थप नयाँ मोडल र मूल्य प्रतिस्पर्धा बढेमा ग्राहकले अझ धेरै विकल्प पाउने सम्भावना छ।

ट्रेन्डिङ

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।