काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार दिउँसो भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको हो।

कोइरालाको सचिवालयका अनुसार भेटमा उनले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको कोइरालाले बताएका छन्।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए। पार्टीलाई एकताबद्ध बनाउन आफू निरन्तर लागिपरेको उनको भनाइ थियो।
भेटमा भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा उत्पन्न विपत्तिबारे समेत छलफल भएको थियो।
यसअघि सभापति थापाले शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। कांग्रेसभित्रको विवाद समाधान गर्ने विषयमा थापा र खड्काबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन्।
पार्टीभित्रको विवाद समाधान र एकता कायम गर्ने प्रयासस्वरूप कांग्रेसका शीर्ष नेताबीचको भेटवार्ता बाक्लिँदै गएको छ।











