२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

एकपछि अर्को विपद्, संकटमा स्वदेशी बीमा तथा पुनर्बीमा कम्पनी

काठमाडौं । गत वर्षको जेनजी आन्दोलनबाट भएको ठूलो क्षतिको दाबी भुक्तानीको भारबाट पूर्ण रूपमा बाहिरिन नपाउँदै स्वदेशी बीमा तथा पुनर्बीमा कम्पनीमाथि भोटेकोशी बाढीले अर्को ठूलो वित्तीय चुनौती थपिदिएको छ।

जेनजी आन्दोलन र पछिल्लो भोटेकोशी बाढीबाट भएको क्षतिको दायित्वले बीमा कम्पनीको वित्तीय अवस्थामाथि थप दबाब सिर्जना गर्ने देखिएको छ। यी दुई विपद्को क्षतिको भार व्यवस्थापन गर्दै वित्तीय सबलता सुधार गर्न स्वदेशी बीमक तथा पुनर्बीमकलाई लामो समय लाग्ने देखिएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड ३ लाख रुपैयाँ घाटामा गएको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ। यो रकम कम्पनीको चुक्तापुँजीको करिब ४३.५१ प्रतिशत हो।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्स पनि सोही अवधिमा ३ अर्ब ४५ करोड २६ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको छ। उक्त घाटा कम्पनीको चुक्तापुँजीको करिब ३२.३२ प्रतिशत बराबर हो।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा व्यावसायिक भवन, मोटरगाडी, होटल, निजी आवास, उद्योग–कलकारखाना, गोदाम, बजार, बैंक शाखा तथा एटीएमलगायतका सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाटबाट ठूलो क्षति भएको थियो। त्यसको क्षतिपूर्ति दाबीको भार अझै पूर्ण रूपमा व्यवस्थापन हुन बाँकी रहेको अवस्थामा बाढीले पुनः ठूलो जोखिम थपेको हो।

जेनजी आन्दोलनअघि नै २०८२ असारमा तातोपानी र रसुवा नाकामा आएको बाढीबाट पुल, भन्सार यार्डमा राखिएका मोटरगाडीलगायतका सम्पत्तिमा क्षति पुगेको थियो। त्यसपछि जेनजी आन्दोलन र अहिलेको भोटेकोशी बाढीले बीमा क्षेत्रमाथि लगातार वित्तीय दबाब थपेको छ।

गत वर्षको जेनजी आन्दोलनका क्रममा करिब ८४ अर्ब रुपैयाँबराबरको सम्पत्तिमा क्षति पुगेको अनुमान गरिएको थियो। त्यसमा स्वदेशी बीमा कम्पनीमा २३ अर्ब ४५ करोड रुपैयाँबराबरको बीमा दाबी दर्ता भएको बताइएको छ। ती दाबीमध्ये नेपाल पुनर्बीमा कम्पनीले ६ अर्ब २३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।

हुलदंगा तथा आतंकवाद बीमा कोषमार्फत जोखिमको ठूलो हिस्सा नेपाल पुनर्बीमा कम्पनीले बहन गर्ने भएकाले जेनजी आन्दोलनको क्षतिको दायित्वमा पुनर्बीमा कम्पनीको हिस्सा उल्लेख्य रहेको छ।

बाढीले थप्यो ठूलो जोखिम

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। सयौँ मोटरगाडी, आयातित सामग्री, जलविद्युत् आयोजना, निजी घर, बैंक शाखा, मालबाहक कन्टेनर तथा व्यावसायिक संरचनामा क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट सञ्चालनमा रहेका १२ वटा जलविद्युत् आयोजना र एउटा सोलार आयोजनामा गम्भीर क्षति पुगेको छ। त्यस्तै निर्माणाधीन १५ वटा आयोजनामा समेत क्षति पुगेको छ। सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी करिब ९०० मेगावाट क्षमताका आयोजनामा बाढीको असर परेको जनाइएको छ।

यसबाट जलविद्युत् क्षेत्रसँगै त्यसमा संलग्न बीमा कम्पनीहरूको दायित्वसमेत बढ्ने देखिएको छ।

सबै जोखिम स्वदेशी पुनर्बीमकले मात्र व्यहोर्दैनन् : प्राधिकरण

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले रसुवा बाढीबाट हालसम्मकै ठूलो जनधनको क्षति भएको भन्दै यसको असर जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीमा पर्ने बताएका छन्।

तर, स्वदेशी पुनर्बीमकमा जोखिम अत्यधिक केन्द्रित भएको कारण कम्पनीहरू धराशायी हुने अवस्था भने नरहेको उनको भनाइ छ।

विदेशी पुनर्बीमा कम्पनीसँग पनि जोखिम बाँडफाँड हुने भएकाले बाढीबाट भएको सम्पूर्ण क्षति स्वदेशी पुनर्बीमकले मात्रै व्यहोर्नु नपर्ने सुवेदीले स्पष्ट पारेका छन्। पुनर्बीमा सम्झौताअनुसार क्षतिको हिस्सा विभिन्न पुनर्बीमकबीच बाँडिने भएकाले स्वदेशी कम्पनीमाथिको भार केही कम हुने उनको भनाइ छ।

उनका अनुसार बाढीबाट भएको क्षतिको तथ्यांक संकलनको काम सुरु भइसकेको छ। बीमित सम्पत्तिमा भएको क्षतिको वास्तविक विवरण संकलन भएपछि बीमा क्षेत्रमाथि परेको वित्तीय दायित्वको यकिन अवस्था स्पष्ट हुनेछ।

नेपाल भूकम्प, बाढी, पहिरो, खडेरी तथा अतिवृष्टिजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको अवस्थामा पछिल्ला घटनाले बीमा कम्पनीहरूको जोखिम व्यवस्थापन र पुनर्बीमा संरचनालाई थप चुनौतीपूर्ण बनाएको देखिन्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।