२०८३ श्रावण २७ बुधबार
२०८३ श्रावण २७ बुधबार

खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरमा अत्याधुनिक नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ।

कम्पनीले गुणस्तरीय खाद्य सामग्री आम उपभोक्ताको सहज पहुँचमा पुर्‍याउने उद्देश्यले सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालन गर्न लागेको हो। नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार नयाँ बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका आधिकारिक उत्पादन सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्। बिक्री कक्षमा चामल, दाल, खानेतेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तुसँगै चिनो, कागुनो, फापर र सिमी जस्ता पौष्टिक स्थानीय उत्पादनसमेत उपलब्ध हुनेछन्।

सिंहदरबार परिसरमा कार्यरत कर्मचारी तथा विभिन्न प्रशासनिक सेवा लिन आउने नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजता हुने कम्पनीले जनाएको छ।

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल

कम्पनीले वार्षिकोत्सवकै अवसरमा बिहीबारदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ।

सूचना अधिकारी मिश्रका अनुसार बजारमा बढ्दो महँगीको चापलाई केही हदसम्म कम गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले देशव्यापी रूपमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो।

यी पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ताले प्रत्येक किलो तथा प्रतिलिटरमा ५ रुपैयाँसम्म विशेष छुट पाउनेछन्।

कम्पनीले सुपथ र गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्दै उपभोक्ताको आर्थिक भार कम गर्न सुपथ मूल्य पसल विस्तार गरिएको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।