काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो।
सोही मुद्दामा जोडिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई भने अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
भट्ट र अग्रवालमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी त्यसलाई शुद्धीकरण गरेको आरोपमा अनुसन्धान तथा अभियोजन भएको छ। अदालतको पछिल्लो आदेशसँगै उनीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहने भएका छन्।

Post Views: 18










