काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले चुनावी परिणाम, संसदमा युवा प्रतिनिधित्व र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने बताउनुभएको छ।

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकार गठन भएको चार महिना बितिसक्दा पनि सडकमा सरकारप्रतिको आवाज कम नभएको भन्दै अब सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो।
उहाँले समाजमा धैर्यता घट्दै गएकाले नागरिकले तत्काल परिणाम खोज्ने प्रवृत्ति बढेको बताउँदै यसले छिट्टै निराश हुने अवस्था सिर्जना गर्न सक्ने धारणा राख्नुभयो। माइतीघरमा अझै पनि भीड देखिएको उल्लेख गर्दै उहाँले नागरिक निराश भएर त्यहाँ पुगेका हुन् वा विरोध गर्ने बानी परिसकेको हो भन्ने छुट्याउन कठिन भएको बताउनुभयो।
लामिछानेले रास्वपाले संसदमा उमेर समूहको मात्रै नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व गराउने विषयमा सचेत रहेको बताउनुभयो। नागरिकमा तत्काल परिणाम खोज्ने प्रवृत्ति कायम रहे विकल्प खोज्नुको विकल्प नरहने उल्लेख गर्दै उहाँले आफूहरू विकल्प खोज्न नभई विकल्प बन्न आएको दाबी गर्नुभयो।
उहाँले चार महिनाको अवधिमै सरकारबाट ठूला परिणामको अपेक्षा गर्नु उचित नहुने भन्दै कामको परिणाम देखाउने चुनौती भने सरकारसामु रहेको बताउनुभयो।
लामिछानेले अनुभवबिनाको राजनीतिले केही गर्न सक्दैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै यस्तो सोचले मुलुकको हित नगर्ने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई अवसर दिएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिनुभयो।












