काठमाडौँ । तारकेश्वरमा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् ।

काठमाडौँको तारकेश्वर नगरपालिकामा वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो ।
मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल रहेकी छन् । उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’को रूपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् ।
शनिबार दिउँसो करिब १ बजे BAE 0410 नम्बरको विद्युतीय कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । कारभित्रै डढेको अवस्थामा शव भेटिएकाले घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।











