प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल गर्नुभएको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग सञ्चालनमा रहेका नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधानका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पार्नुभयो।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई सरल बनाउने तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवाद आवश्यक रहेको सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने तथा आर्थिक सुधारको अभियानमा निजी क्षेत्रसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी वातावरण सुधार तथा निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।












