काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस का सांसद भरतबहादुर खड्का ले गृहमन्त्रीमा पुनः सुदन गुरुङ लाई नियुक्त गरिएको विषयमा आपत्ति जनाउनुभएको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सम्पत्तिसम्बन्धी अभियोग लागेको तथा राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका घटनामा दोषी ठहर गरेको व्यक्तिलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
सांसद खड्काले सरकारले दोषीमाथि कारबाही गर्नुको सट्टा पुरस्कार दिने काम गरिरहेको आरोप लगाउनुभयो। सुशासनको नारा दिने सरकारले आफ्ना निकट व्यक्तिलाई जोगाउने र जिम्मेवारी प्रदान गर्ने कार्य गरिरहेको उहाँको भनाइ थियो।
उहाँले सरकारको यस्तो कदमले सुशासन, जवाफदेहिता र विधिको शासनमाथि प्रश्न उठाएको उल्लेख गर्नुभयो।
साथै सांसद खड्काले बालेन्द्र साह ले संसदमा दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्तिलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने आफ्नो अडान पुनः दोहोर्याउनुभयो।










