काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा सम्भावित जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनलाई उद्धृत गर्दै प्राधिकरणले चक्रवातको प्रभावका कारण कात्तिक १२ गते रातिदेखि मौसम प्रभावित हुन सक्ने जनाएको छ।
प्राधिकरणका अनुसार चक्रवात कात्तिक ११ गते भारतको जमिनी भूभागमा प्रवेश गर्ने सम्भावना छ। हालको मौसम विश्लेषणअनुसार कात्तिक १३ र १४ गते कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कात्तिक १२, १३ र १४ गते विशेष सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्राधिकरणका आठ बुँदे सुझाव
सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न प्राधिकरणले निम्न उपाय अपनाउन आग्रह गरेको छ।
१. कृषि कार्य समयमै सम्पन्न गर्ने : धान काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न तथा गराउन।

२. उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्ने : उक्त अवधिमा पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजान तथा पहिल्यै गइसकेका पर्यटक सुरक्षित स्थानमा बस्न।
३. यातायात व्यवस्थापनमा सतर्कता अपनाउने : आवश्यक परे सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने र रोक्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी दिने।
४. अनावश्यक यात्रा नगर्ने : सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नगराउन।
५. पूर्वतयारी अवस्थामा रहने : संघीय मन्त्रालय, सरकारी निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकले सर्वसाधारणलाई जोखिमबारे जानकारी गराउँदै प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
६. जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने : पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्ने।
७. आपत्कालीन सम्पर्क नम्बर प्रयोग गर्ने : मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, प्रहरी सेवाका लागि १०० तथा उपलब्ध गराइएको अर्को आपत्कालीन नम्बर १११४ मा सम्पर्क गर्ने।
८. सम्बन्धित निकायबीच समन्वय गर्ने : सम्भावित जोखिमबारे सूचना प्रवाह, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि सरोकारवाला निकायबीच समन्वय कायम गर्ने।
नदीमा जलसतह बढ्न सक्ने चेतावनी
प्राधिकरणले चक्रवातको सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ।
वर्षाका कारण ती नदी तथा आसपासका क्षेत्रमा जलसतह बढ्न सक्ने भएकाले नदी किनार र बाढीको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन, जोखिमयुक्त स्थानबाट सुरक्षित रहन र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।











