काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले बीमालेख नवीकरणबाट पौने २२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले साउनमा २१ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन्।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा यी कम्पनीहरूले १६ अर्ब ३८ करोड ८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा चालु आर्थिक वर्षको पहिलो महिनामा नवीकरण बीमाशुल्क ३२.५५ प्रतिशतले बढेको देखिन्छ।
तथ्याङ्कअनुसार साउनमा अघिल्लो वर्षको तुलनामा सबै जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क बढेको छ। कुल रकम संकलनमा नेपाल लाइफ अगाडि रहे पनि वृद्धिदरका आधारमा राष्ट्रिय जीवन बीमा कम्पनीले ठूलो छलाङ मारेको छ।
नेपाल लाइफको नवीकरण बीमाशुल्क सबैभन्दा धेरै
साउनमा सबैभन्दा धेरै नवीकरण बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ। कम्पनीले ५ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको हो। गत वर्षको साउनमा कम्पनीले ५ अर्ब १५ करोड ३४ लाख रुपैयाँ संकलन गरेको थियो। यस वर्ष कम्पनीको नवीकरण बीमाशुल्क ९.३१ प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। कम्पनीले साउनमा ३ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २३ लाख रुपैयाँ मात्रै संकलन गरेको थियो। यससँगै कम्पनीको नवीकरण बीमाशुल्क ८५४.२० प्रतिशतले बढेको छ।
नेशनल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले गत वर्ष साउनमा १ अर्ब ९९ करोड ७ लाख रुपैयाँ संकलन गरेकोमा यस वर्ष २ अर्ब ३८ करोड ८ लाख रुपैयाँ पुर्याएको छ। कम्पनीको नवीकरण बीमाशुल्क १९.६० प्रतिशतले बढेको हो।
त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सले साउनमा १ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। गत वर्षको १ अर्ब ७९ करोड १ लाख रुपैयाँको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ११.१० प्रतिशतले वृद्धि भएको छ।

अन्य कम्पनीको अवस्था
साउनमा एलआईसी नेपालले १ अर्ब ९० करोड ६२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। कम्पनीको वृद्धिदर ४.३७ प्रतिशत रहेको छ।
त्यस्तै सूर्यज्योति लाइफले १ अर्ब १९ करोड ५० लाख रुपैयाँ, एशियन लाइफले ९२ करोड १७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७१ करोड ११ लाख रुपैयाँ र सिटिजन लाइफले ६६ करोड २५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
गत वर्षको तुलनामा यी कम्पनीहरूको नवीकरण बीमाशुल्क क्रमशः १७.४७ प्रतिशत, १५.६५ प्रतिशत, १६.३८ प्रतिशत र ९.२८ प्रतिशतले बढेको छ।
यसैगरी आईएमई लाइफले ६५ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५७ करोड ६८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५१ करोड ५४ लाख रुपैयाँ, मेटलाइफले ४६ करोड १ लाख रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ९४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।
गत वर्षको साउनको तुलनामा आईएमई लाइफको नवीकरण बीमाशुल्क २६.४० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १२.४५ प्रतिशत, रिलायबल नेपाल लाइफको १८.१८ प्रतिशत, मेटलाइफको १०.६१ प्रतिशत र सन नेपाल लाइफको १५.८४ प्रतिशतले बढेको छ।
साउनको तथ्याङ्कले जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आम्दानीमा नवीकरण व्यवसायको योगदान बलियो रहेको देखाएको छ। नयाँ व्यवसाय विस्तारसँगै विगतमा बिक्री भएका बीमालेखलाई निरन्तरता दिन सफल हुँदा कम्पनीहरूको नवीकरण बीमाशुल्कमा उल्लेख्य वृद्धि भएको देखिन्छ।










