जीवन बीमामा सिंगल प्रिमियमको आकर्षण बढ्यो, १९ अर्बभन्दा बढी संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूको एकल बीमा शुल्क (सिंगल प्रिमियम) बाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले सिंगल प्रिमियममार्फत कुल १९ अर्ब १६ करोड २४ लाख रुपैयाँ संकलन गरेका छन्।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२४ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले यस्तो शीर्षकमा १२ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ संकलन गरेका थिए।
नेपाल लाइफको हिस्सा सबैभन्दा ठूलो
सिंगल प्रिमियम संकलनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ८ करोड २७ लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको सिंगल प्रिमियम व्यवसाय ३१.७९ प्रतिशतले वृद्धि भएको हो।
यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले चौथो त्रैमाससम्म ३ अर्ब ३३ करोड ३ लाख रुपैयाँ एकल बीमा शुल्क आर्जन गरेको छ।
हिमालयन लाइफको वृद्धिदर सबैभन्दा उच्च
संकलन रकमभन्दा वृद्धिदर हेर्दा भने हिमालयन लाइफ इन्स्योरेन्सले सबैलाई पछि पारेको छ। कम्पनीको सिंगल प्रिमियम अघिल्लो आर्थिक वर्षको १३ करोड २६ लाख रुपैयाँ बाट बढेर समीक्षा अवधिमा ४६ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

यससँगै हिमालयन लाइफले २५०.१६ प्रतिशतको वृद्धि हासिल गरेको हो।
त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको एकल प्रिमियम व्यवसाय १५५.२४ प्रतिशतले बढेर ३३ करोड ८५ लाख रुपैयाँ पुगेको छ। सिटिजन लाइफ इन्स्योरेन्सले पनि १११.८८ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ४८ करोड २ लाख रुपैयाँ संकलन गरेको छ।
अन्य कम्पनीको अवस्था
समीक्षा अवधिमा सूर्यज्योति लाइफले १ अर्ब ४९ करोड २७ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेको छ। कम्पनीको यस्तो व्यवसाय अघिल्लो वर्षको तुलनामा ४६.४३ प्रतिशतले बढेको हो।
त्यस्तै, एशियन लाइफले १ अर्ब १० करोड ५९ लाख रुपैयाँ र एलआईसी नेपालले १ अर्ब ६ करोड ३५ लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेका छन्।
यसैगरी सन नेपाल लाइफले ९९ करोड ४१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७४ करोड ७३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५९ करोड ६ लाख रुपैयाँ र मेट लाइफले ५४ करोड ५३ लाख रुपैयाँ सिंगल प्रिमियमबाट संकलन गरेका छन्।
के हो सिंगल प्रिमियम?
सिंगल प्रिमियम भन्नाले बीमा पोलिसीको सम्पूर्ण प्रिमियम रकम बीमितले एकैपटक एकमुष्ट भुक्तानी गर्ने व्यवस्थालाई जनाउँछ। यस्तो पोलिसीमा मासिक, त्रैमासिक वा वार्षिक रूपमा छुट्टाछुट्टै प्रिमियम तिर्नुपर्ने हुँदैन।
बीमितले एकपटक प्रिमियम भुक्तानी गरेपछि सम्बन्धित पोलिसीमा तोकिएका बीमा सुविधा, कभरेज तथा अन्य सर्तहरू लागू हुन्छन्। पछिल्लो तथ्यांकले जीवन बीमा कम्पनीहरूको व्यवसायमा यस्तो एकमुष्ट प्रिमियमको योगदान बढ्दै गएको देखाएको छ।










