काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित तथा घाइते भएकाहरूको उद्धार, उपचार र पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए।
सरकारका निर्णयहरूमा:
१. बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने।
२. घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने।
३. उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरलगायत सबै उपलब्ध साधन प्रयोग गर्ने।
४. उद्धार कार्यका लागि गृहमन्त्रीलाई आवश्यक सबै स्रोत–साधन परिचालन गर्न निर्देशन दिने।
५. घरबास गुमाएका नागरिकको अस्थायी बसोबास तथा व्यवस्थापन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिमार्फत गर्ने।
६. बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित मन्त्रालयले मिलाउने।
७. प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था तत्काल मिलाउने।
८. विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक काम अघि बढाउन निर्देशन दिने।
९. बाढीमा ज्यान गुमाउनेका परिवारलाई प्रचलित कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने।
१०. प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय गरी आवश्यक काम अघि बढाउने।












