काठमाडौँ । चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रमा विभिन्न युनिटबाट उद्धार टोली खटाइएको छ। उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगेका छन्।
उनीहरूले बाढी तथा डुबानमा परेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सक्रियतापूर्वक काम गरिरहेका छन्।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप जनशक्ति तथा उद्धार सामग्री परिचालन गर्दै उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।












