रसुवा । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ।
बुधबार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा रहेका धेरै घर तथा संरचना बगाएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बजारमा ५ देखि ७ वटा घर मात्रै बाँकी रहेको बताइएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन। उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरेमा समेत असर परेको छ। कार्यालयमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म ८ जना मात्रै सम्पर्कमा आएका डीआईजी रेग्मीले जानकारी दिए।
बाँकी प्रहरीको अवस्था र बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।
बाढीको कारण टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेपछि स्थानीयवासी त्रसित बनेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।












