












नवलपुर, सिन्धुपाल्चोक — नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तहका विद्यार्थीहरूबीच पालिकास्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शनिबार (२०८३ साउन ३० गते) नवलपुरमा आयोजित उक्त प्रतियोगितामा इन्द्रावती गाउँपालिकाभित्र सञ्चालित कक्षा ९ र १० का सबै १२ वटा माध्यमिक विद्यालयका टोलीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रविधिमैत्री वातावरणमा सम्पन्न तीव्र प्रतिस्पर्धाका बीच नवलपुर माध्यमिक विद्यालयले ८५ अंक ल्याएर प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ऐसेलुखर्क माध्यमिक विद्यालयले ८० अंक प्राप्त गर्दै द्वितीय र राजेश्वरी माध्यमिक विद्यालयले ६५ अंकसहित तृतीय स्थान हासिल गरेका छन्।
विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमतालाई डिजिटल प्रविधिसँग जोडेर अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सहभागी तथा विजेता विद्यालयहरूलाई आयोजकका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सो समारोहमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल प्रमुख अतिथि तथा संगठनका वागमती प्रदेश समिति सदस्य शारदाप्रसाद सापकोटा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।










