काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले वृद्धि भएको हो।

आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो। एक वर्षमै नाफामा भएको उल्लेख्य वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानीमा सुधारसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुनु रहेको बैंकको वित्तीय विवरणले देखाएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले वृद्धि भएको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ। यसको सकारात्मक प्रभाव बैंकको सञ्चालन मुनाफामा समेत परेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
नाफामा उल्लेख्य वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ रुपैयाँ ९४ पैसा रहेको ईपीएस गत असार मसान्तसम्म २८ रुपैयाँ १७ पैसा पुगेको हो।
यस्तै, बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ। यसअनुसार वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेको छ। असार मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।
कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।











