x

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध ९६ हजार बढी गाईभैंसीलाई खोप

१८ भाद्र २०८२, बुधबार ०८:१२

हेटौंडा ।
बागमती प्रदेशमा लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरिएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत ९६ हजार ३ सय ४७ गाईभैंसीलाई खोप लगाइएको छ ।

गाईभैंसीको छालामा गाँठा, फोका, उच्च ज्वरो, दूध उत्पादनमा गिरावट, शरीर सुन्निने र अशक्त देखिने जस्ता लक्षणसहित फैलिने यो रोग पछिल्लो समय चितवनमा तीव्र रूपमा फैलिएको छ । रोग नियन्त्रणका लागि सुरु गरिएको खोप अभियान ललितपुरबाट प्रारम्भ भई हाल प्रदेशका १३ वटै जिल्लामा सञ्चालन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले जानकारी दिनुभयो ।

जिल्लागत खोप विवरण

  • मकवानपुर : २४,६९५
  • सिन्धुली : १०,३२८
  • दोलखा : ९,९८२
  • नुवाकोट : ७,७२४
  • काभ्रे : ७,६९८
  • सिन्धुपाल्चोक : ६,२८४
  • धादिङ : ६,०५१
  • चितवन : ६,०१५
  • रसुवा : ३,६३४
  • ललितपुर : ३,६०६
  • काठमाडौँ : ४,३५०
  • रामेछाप : ४,४३७
  • भक्तपुर : १,५४३

पशु र दूध उत्पादन

मन्त्रालयका अनुसार बागमती प्रदेशमा हाल ६ लाख ९४ हजार २१७ गाई र ५ लाख ४९ हजार १८२ भैंसी रहेका छन् । यी पशुहरूबाट वार्षिक ४ लाख ८१ हजार ७७१ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । चितवन जिल्लामा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ ।

मृत्यु र संक्रमण

आर्थिक वर्ष २०८०/८१ मा मात्र प्रदेशभर ११ हजार २१८ गाईभैंसीको लम्पी स्किन रोगका कारण मृत्यु भएको तथ्यांक छ । सोही अवधिमा ३७ हजार ८९ गाईभैंसी संक्रमित भएका थिए भने २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए ।

यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २२२ गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइसकिएको र हाल सुरु गरिएको कार्यक्रम निरन्तर जारी रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो।