x

नगरप्रमुख कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिकाको लिजामा ऐतिहासिक ८३.७५ अंक प्राप्त

८ भाद्र २०८२, आईतवार ०३:१३

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) नतिजामा कागेश्वरी मनोहरा नगरपालिकाले ऐतिहासिक ८३.७५ अंक प्राप्त गरेको छ।

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा अवस्थित यस नगरपालिकाले यसअघि भन्दा उल्लेखनीय प्रगति गर्दै हालसम्मकै उत्कृष्ट उपलब्धि हासिल गरेको हो। गत वर्षहरूमा क्रमशः २०७६/७७ मा ६८, २०७७/७८ मा ७१.५, २०७८/७९ मा ६१.५ र २०७९/८० मा ६७.२५ अंकमा सीमित रहेको नतिजा यस वर्ष बढेर ८३.७५ अंक पुगेको हो।

यो सफलता नगरप्रमुख उपेन्द्र कार्कीको गतिशील नेतृत्व, दुरदर्शी सोच र सुधारमुखी कार्यशैलीको परिणाम भएको जनाइएको छ। नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख कार्कीले आफ्नो कार्यकालमा संस्थागत क्षमता अभिवृद्धि, पारदर्शिता, सेवा प्रवाहमा सहजता र दिगोपनालाई प्राथमिकता दिँदै आएका छन्। साथै, उहाँ नगरपालिका संघ बागमती प्रदेश संयोजकको हैसियतमा स्थानीय तहको सामूहिक सशक्तीकरणमा सक्रिय रहँदै आएका छन्।

उपलब्धिपछि नगरप्रमुख कार्कीले प्रतिक्रिया दिँदै भने, “यो अंक व्यक्तिगत मात्र होइन, सम्पूर्ण नगरवासी र नगरकर्मीहरूको सामूहिक प्रयासको परिणाम हो। पारदर्शिता, सुशासन र नतिजामुखी नेतृत्वप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो। अबको यात्रामा अझ जिम्मेवार र नागरिकमैत्री नगरपालिका निर्माण हाम्रो मुख्य लक्ष्य हुनेछ।”

काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये कागेश्वरी मनोहरा नगरपालिका यस वर्ष तेस्रो स्थानमा परेको छ। नागार्जुन नगरपालिका ८६.५० अंकसहित पहिलो र टोखा तथा बुढानिलकण्ठ नगरपालिका ८५.२५ अंकसहित संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन्।