विश्व केम्पो च्याम्पियनसिपमा सात पदकसहित नेपालको कीर्तिमानी सफलता

१९ बैशाख २०८२, शुक्रबार १७:०९

काठमाडौं, वैशाख १९ – पोर्चुगलको काल्दास दा रेन्हामा सम्पन्न २१औँ विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता हात पार्दै सात अन्तर्राष्ट्रिय पदक जितेका छन्। यो नेपाली केम्पो खेलको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा जितिएको पदक हो।

नेपालका लागि पाँच खेलाडी सहभागी रहेको प्रतियोगितामा खेलाडी विपेश थापा र अञ्जना शाहीले प्रमुख भूमिका खेलेका छन्। पाँचौं डान श्रेणीका खेलाडी तथा प्रशिक्षक थापाले एक रजत र तीन कास्यसहित चार पदक जित्दै कीर्तिमानी प्रदर्शन गरे। यस्तै, महिला खेलाडी अञ्जना शाहीले पनि एक रजत र दुई कास्य पदक जित्दै नेपालको झण्डा विश्वमञ्चमा फहराइन्।

थापाले सेमी केम्पो फाइटिङ ७० केजी, सेमी केम्पो सिनियर ५० केजी, केम्पो–को ६० केजी र सबमिसन केम्पो ६० केजी तौल समूहमा पदक जिते। अर्की खेलाडी शाहीले सेमी केम्पो ५५ केजी, फुल केम्पो सिनियर ६० केजी र सेमी केम्पो सिनियर ५० केजी समूहमा उत्कृष्ट प्रदर्शन गरिन्।

नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाहका अनुसार, यो नेपालको खेल इतिहासमा उल्लेखनीय सफलता हो। अध्यक्ष शाहले भने, “हाम्रा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको नाम विश्वमञ्चमा उजागर गरेका छन्। यो राष्ट्रका लागि गर्वको विषय हो।”

प्रतियोगितामा विश्वभरका १०८ देश सहभागी थिए, जहाँ नेपालले सातौँ स्थान हासिल गर्‍यो। गत वर्ष पहिलोपटक सहभागी भएको नेपालले यो पटक पदकसहित ऐतिहासिक फड्को मारेको हो।