सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिकामा दुई स्थानीय तहबीच असल शैक्षिक अभ्यास अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ललितपुरको कोन्ज्योसोम गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि तथा शिक्षासम्बन्धी सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष श्री कृष्ण मान लामा, वडाध्यक्ष श्री सन्तलाल लामा, प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद दुलाल, शिक्षा अधिकृत श्री विष्णु प्रसाद आचार्य लगायत प्रधानाध्यापकहरूको संयुक्त टोली कार्यक्रमका लागि हेलम्बु पुगेको थियो । त्यस्तै, हेलम्बु गाउँपालिकाका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पा, सामाजिक विकास समितिका संयोजक श्री छिरिङ लामा ह्योल्मो, शिक्षा अधिकृत श्री धन ध्वज लामा लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा दुवै गाउँपालिकाले आफ्नो क्षेत्रमा लागू गरेका सफल शैक्षिक अभ्यास, विद्यालय व्यवस्थापन, शिक्षाको गुणस्तर सुधार, विद्यार्थी सिकाइ उपलब्धि तथा समुदायको सहभागिताबारे अनुभव आदानप्रदान गरेका थिए । सहभागीहरूले यस्तो कार्यक्रमले स्थानीय तहबीच सहकार्य बढाउने र शिक्षा क्षेत्रमा सकारात्मक सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
आगामी दिनमा समेत यस्ता सहकार्यात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै शिक्षा क्षेत्रको विकासमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।