सिपाघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५५४ जना लाभान्वित

२९ बैशाख २०८२, सोमबार १३:५८

मण्डनदेउपुर –६, सिपाघाटस्थित इन्द्रावती सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ५५४ जना बिरामीले सेवा लिएका छन्।
कान्तिपुर अस्पताल प्रा.लि. सुबिधानगर, तिनकुने र इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटको सहकार्यमा आयोजित उक्त शिविरमा विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो।

शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, नाक–कान–घाँटी, छालारोग, हड्डीसम्बन्धी रोग, बालरोग, दन्तरोग लगायतका विषयमा विशेषज्ञ चिकित्सकहरूले परामर्श र परीक्षण गरेका थिए।
बिरामीहरूलाई आवश्यक औषधिहरू निःशुल्क रूपमा वितरण गरिनुका साथै आवश्यक पर्ने बिरामीहरूको ल्याब परीक्षण पनि निःशुल्क गरिएको थियो।

स्वास्थ्यकर्मी तथा आयोजक श्यामकृष्ण खड्काका अनुसार, शिविरमा कान्तिपुर अस्पतालका विशेषज्ञ चिकित्सकहरूबाट परीक्षण गरिनुका साथै शिविरपश्चात् २४ सै घण्टा अस्पताल सेवा सञ्चालनमा ल्याइएको छ। अब बिरामीहरूले जुनसुकै समयमा पनि अस्पतालको सेवा लिन सक्ने स्याम खडकाले बताउन्भयो ।