सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ अन्तर्गत सिन्धुपाल्चोकमा वार्षिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रद्वारा सञ्चालित सिन्धु स्वास्थ्य परियोजनाको सहयोगमा विद्यालय नर्सहरूका लागि मातृ–शिशु स्वास्थ्य तथा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम मंसिर २८ गते (आइतबार) सम्पन्न भएको हो। सुनकोशी गाउँपालिका–स्थित ग्रामीण महिला सिर्जनशील परिवारको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा समुदायको स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा आयोजकले गरेका छन्।
त्यसैगरी, मंसिर २९ गते (सोमबार) जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको वार्षिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहबाट ४५ जना विद्यालय नर्सको सहभागिता रहेको थियो।
कार्यक्रममा वार्षिक प्रगति समिक्षासँगै विद्यालय नर्सहरूको सीप तथा ज्ञान अभिवृद्धि, कार्यक्रम कार्यान्वयनको अवस्था, देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।
समापन समारोहमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जिल्लामा १४१ वटा माध्यमिक तहका विद्यालय (कक्षा ९–१० तथा ९–१२ सञ्चालनमा रहेका) रहेको जानकारी दिनुभयो। तीमध्ये १०२ वटा माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू हुनुपर्ने भए पनि हाल ५३ जना मात्र विद्यालय नर्स कार्यरत रहेको उहाँले बताउनुभयो।
कतिपय स्थानमा पदपूर्ति हुन नसक्नु तथा दुर्गम क्षेत्रमा नर्सहरू जान नचाहनु प्रमुख समस्या रहेको जनाउँदै ती विषयहरू प्रदेश स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निर्देशनालयलाई जानकारी गराइसकिएको उहाँले उल्लेख गर्नुभयो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्मका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको छ। विद्यालय नर्स कार्यक्रममार्फत पत्रु खाना हटाई पोषणयुक्त खानपानमा प्रोत्साहन, मर्यादित महिनावारी व्यवस्थापन, स्वास्थ्य तथा मानसिक स्वास्थ्य सचेतना, सरसफाइ, आत्महत्या रोकथाम तथा पोषण प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
तत्कालीन बागमती प्रदेश सरकारले २०७५ सालदेखि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।



