x

सर्वदलीय बैठकमा चुनावी सुरक्षा प्रमुख एजेन्डा, सबै दल निर्वाचनमा सहमत

५ कार्तिक २०८२, मंगलवार १५:३०

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा सहभागी दलहरूले आगामी निर्वाचनका लागि सुरक्षाको वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा दलका शीर्ष नेताहरूले पालैपालो आफ्नो धारणा राख्ने क्रममा चुनावी सुरक्षालाई मुख्य विषय बनाएका छन्। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा अधिकांश नेताहरूले आफ्नो मन्तव्य सकाएका छन्।

मन्त्री खरेलले भने, “निर्वाचनमा जाने कुरामा सबै दलहरूको सहमति देखिएको छ। तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्नेमा सबैले जोड दिएका छन्।”

बैठकमा नेकपा एमालेका प्रतिनिधिहरूले वर्तमान सरकारले निर्धारित समयमा निर्वाचन गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध भने नगरेको बताइएको छ।

बैठकमा दलहरूबीच आगामी निर्वाचनको तयारी, सुरक्षाकर्मीको व्यवस्थापन र निर्वाचन आयोगको तयारीसम्बन्धी विषयमा छलफल जारी रहेको स्रोतले जनाएको छ।